पानीको सङ्कटः २०० दलित परिवार दैनिक ५० लिटर पानीको भरमा

पानीको सङ्कटः  २०० दलित परिवार दैनिक ५० लिटर पानीको भरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १८, २०७६

डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको ‘जर्किन’ राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेकै हुन्छन् । 

उनीहरुले त्यो जर्किन भारतबाट किनेर लयाउने गरेका छन्  ।  सुनकोट गाउँमा दलित समुदायको बसोबास रहेको छ । हरेक दिन दिउँसोतिर बस्तीका महिला नीलो जर्किन बोकेर गाउँमाथि रहेको खानेपानी ट्याङ्कीमा हतारिँदै आइपुुग्छन् । पानी भर्न त्यस ठाउँमा आउनै पर्ने उनीहरुको नियति हुने गरेको छ ।  

पानी भर्न आएकी ५० वर्षीय हरुदेवी भुल २०० दलित परिवार रहेको सुनकोटको हरेक घरमा नीलो जर्किन नभएको घर पाउनुहुन्न भन्दै भन्नुुहुुन्छ –‘पानीका दुःखले यो इण्डियाबाट किनेर ल्याया हौं’, उनले डोटेली भाषाको कथन थियो ।  सबै घरका मान्छे कोही न कोही भारतमा रोजगारीको लागि जाने गरेको छ । सबैले घर आउँदा सँगै एउटा जर्किन ल्याउने गरेका छन् ।  

कसै–कसैको घरमा त पाँच/छ वटा जर्किन समेत पाइने गरेको छ । गाउँभन्दा दश किलोमिटर टाढा असुर्पाबाट यस गाउँमा ट्याङ्कीमा पानी ल्याउने गरिएको छ । ‘दिनभर ट्याङ्कीमा पानी भरिन्छ, त्यसपछि दिउँसोको समयमा धारा खोल्ने गरिन्छ’ उहाँको भनाई थियो–‘हामी सबैले दिनको ५० लिटर अट्ने एक जर्किन पानी पाउँछौं ।’

 दिनको ५० लिटर पानी पाए पनि उनीहरुलाई त्यो पर्याप्त छैन । गाउँभन्दा आधा किलोमिटर पर हिँडेर पल्लो गाउँमा पानी लिन जाने उनीहरुको दैनिकी नै बनेको छ । मजदूरी गरेर गुजारा गर्ने उनीहरु बिहानै ४ बजे जर्किन लगेर पानी भर्न जानुपर्ने हुन्छ । ‘बिहानै उठेर पानी भर्न जान २ घण्टा लाग्ने हुँदा कामको हर्जा नै हुन्छ, नजीकै रहेका केटाकेटी देखाउँदै अर्की पानी भर्न आएकी इन्दिरादेवी भुलले भन्नुुभयो– यिनीहरु सबै पानीका लागि जान्छन, ५० लिटर त्यहाँबाट बोकेर ल्याउँछन ।’ स्थानीय सरकार आएको २ वर्ष हुँदा समेत सुनकोटवासीको खानेपानीको समस्या सुल्झिएको छैन । ‘पहिलेको भन्दा त अलि सहज भएको छ पहिले टाढाबाट पानी ल्याउनुपथ्र्यो’, हरुदेवीले भन्नुुभयो–मैले बिहे गरेर आउनुभन्दा पहिले पनि यता यस्तै समस्या थियो, आधा उमेर भैसक्यो अझ पनि उस्तै छ’ ।

गाउँमै खानेपानीको ट्याङ्की त बनेको छ तर, यो पानी हाम्रो लागि पर्याप्त छैन, परिवर्तन भन्नाका लागि मात्र आए जस्तो छ गाउँबासीको गुनासो थियो  । पानीमा जातीय विभेद गाँउपालिकाको खानेपानी योजनाले समेत गरेको देखिन्छ । चन्नरीदेवी भुल भन्नुुहुन्छ – दिनको एक जर्किन मात्र हामीले पानी पाउँछौं । त्यो पनि पानी आएको दिन मात्र । नत्र हामीले दिन काटेर अरुको धाराबाट पानी ल्याएर खानुपर्छ । दुईसय घरधुरी रहेको दलित गाउँका नाउला (पोखरी) समेत सुकेका छन् । गाईगोरुलाई पानी खुवाउनदेखि लत्ताकपडाका साथै नुहाउनका लागि तीन÷चार घण्टाको पैदल दूरी हिँड्नुपर्ने भन्दै हरुदेवीले दुःखेसो पोख्नुुभयो । ‘हाम्रा भन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ’। उहाँको दावी थियो–‘पानीका लागि धेरै करायौं, फेरि पनि कराउँदै छौं’। गैरदलित भन्दा दलित बस्तीमा पानी कम आउने भएकाले सुनकोटमा पानी नपुग्ने गरेको ट्याङ्कीको पानी खोल्ने चौकीदार पौवा भुल भनाइ  थियो । ‘एरोडामा रहेको रिर्जभ ट्याङ्कीबाट पानी वितरणमा भेदभाव हुने गरेको छ’ उहाँको भनाई थियो–यता फुल गरेर खोलिँदैन, एरोडामा बढी खोलिने गरेको छ’ । 

 खानेपानीको बिषयमा विवाद हुँदा खुकुरी प्रहार गरी कोटेलीमै २०७३ फागुन १ गते आइतबारका दिन एकजनाको हत्या समेत भएको थियो । नवदुर्गा गाउँपालिकाको कोटेलीका शेरबहादुर साउदको स्थानीय भीमबहादुर भुलले खुकुरी प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भुल र मृतक साउदको खानेपानीको विषयमा बिहान विवाद भएपछि दुबैजनाबीच कुटाकुट भएको थियो । सोही क्रममा भूलले साउदमाथि खुकुरी प्रहार गरेका थिए । भूल र साउद छिमेकी थिए । मृतक साउदको घरमाथि र भुलको घर तल रहेको थियो । दुई परिवारको खानेपानी प्रयोग गर्ने धाराको पाइप एउटै भएकाले तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जान्छ । तलको धारा बन्द नगरेपछि विवाद उत्पन्न हुँदा घटना भएको प्रहरीले जानकारी दिएको छ । घटना भएको ३ वर्ष पुग्दा समेत यहाँको खानेपानीको समस्या भने जिउँका तिहँ रहेको छ । 

गाउँपालिकाको सक्रियता गाउँपालिकाले नवदुर्गाको कोटेलीमा रहेको खानेपानी समस्या सुल्झाउने प्रयास भइरहेको बताएको छ । विगतकोे भन्दा धेरै समस्या सुल्झिसकेको वडा नं १ कोटेलीका वडाध्यक्ष भीम बोहोराले बताउनुभयो । ‘खानेपानीको समस्या विगतबाटै रहिआएको थियो’, उहाँका भनाइ थियो– हामीले २० लाख छुट्याएर कोटेली बृहत् खानेपानी योजना सम्पन्न गर्दैछौ । योजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र नजीकै डिप बोरिङको काम सुरुआत गर्ने योजनामा छौं’। डिप बोरिङका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको र गाउँपालिकाले त्यसका लागि १६ लाख छुट्याएको उहाँले बताउनुभयो । ‘अझै कोटेलीको दुई/तीन वटा बस्तीमा खानेपानीका योजना सम्पन्न हुने अवस्थामा छ’ बोहरा भन्नुहुन्छ–आगामी दिनमा पनि हाम्रो खानेपानी योजनामा बढी भन्दा बढी जोड रहन्छ’। भन्ने समाचार राससमा भूपेन्द्रसिंह विष्टले लेख्नुभएको छ ।