वरिष्ठ पत्रकार गोपाल थपलियाको कविता कृति ‘सत्ताको मान्छे’ माथि अन्तर्क्रिया

वरिष्ठ पत्रकार गोपाल थपलियाको कविता कृति ‘सत्ताको मान्छे’ माथि अन्तर्क्रिया

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र ७, २०७९

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कविताकृति ‘सत्ताको मान्छे’ माथि आज अन्तर्क्रिया आयोजना गरिएको छ ।

पेरोल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले जनताका मनका आवाजलाई थपलियाले कविताका माध्यमबाट प्रस्फुटन गराएको बताउनुभयो । उहाँले प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषा र विगतमा निर्णय गरिएका आजीवन प्राज्ञ सदस्यहरूप्रति पूर्वाग्रही व्यवहार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । 

प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले थपलियाले पत्रकारिताको आफ्नो सङ्घर्षपूर्ण जीवनको जगमा कविता सङ्ग्रह तयार गरेको बताउनुभयो । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले थपलिया प्रेस स्वतन्त्रता आन्दोलनका अग्रज भएको र उहाँले निष्ठापूर्वक अक्षरका माध्यमबाट जनताको सेवा गरेको उल्लेख गर्नुभयो ।

समालोचक प्रा डा हेमनाथ पौडेल, प्रा सावित्री मल्ल कक्षपति र डा हरिप्रसाद सिलवालले ‘सत्ताको मान्छे’ ले राजनीतिक र सामाजिक क्षेत्रका समस्या तथा विकृतिलाई स्पष्टरूपमा बाहिर ल्याएको बताउनुभयो । कृतिका स्रष्टा थपलियाले आफूले निजी स्वार्थ र लाभको आकाङ्क्षा नराखी जनताको मुक्तिकै खातिर सरकारी जागिर छाडेर पत्रकारिता र साहित्यमा समर्पित भएको जनाउनुभयो ।

पञ्चायतकालमा जेलनेलसहित पत्रकारिता र प्रेस स्वतन्त्रताको आन्दोलनमा सक्रिय ‘छलफल’ साप्ताहिकका प्रधानसम्पादक थपलिया लोकतान्त्रिक जनआन्दोलनमा घाइते भई लामो समय स्वास्थ्योपचारमा रहँदाको अवस्थामा पनि साहित्यिक सिर्जना गर्दै आउनुभएको छ । एक सय ६४ पृष्ठको सो कृति मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो ।