होटल पौवा ११औँ शाखा पोखरा सञ्चालनमा: ६० करोड लगानी, तीन सयलाई रोजगारी

होटल पौवा ११औँ शाखा  पोखरा सञ्चालनमा: ६० करोड लगानी, तीन सयलाई रोजगारी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ९, २०७९

गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । 

यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले  १० करोडको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको बताउनुभयो । 

आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै ६० करोड लगानी गरिसकेको जनाइएको छ । होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गर्नुभयो । “काठमाडौँ र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौँ”, उहाँले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आउँदो दशक भित्र होटलका एक सय शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । ‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन् ।

'होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौँ' , प्रबन्ध निर्देशक ज्ञवालीले भन्नुभयो, ' हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपाली पनको हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।' 

आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ । पौवामा आउने जोकोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । 

पोखरामा खुलेको पौवाको ११औँ शाखाको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबाट औपचारिक शुभारम्भ हुने जनाइएको छ । सो अवसरमा नेपाली आतिथ्यता प्रवद्र्धन, फुड टेस्टलगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।