डा. विदुर चालिसे | साहित्य | चैत्र ११, २०७९
...'सबै प्राज्ञ !'
एक सार्वजनिक घोषणामा अभिलेखालयको कोठाभित्र उडुस उफ्रिरहेको थियो । एकाएक सिपाहीको प्रवेश भयो। उनीहरूले सिपाहीलाई सलाम र स्वस्ति वाचन गरे । भित्तामा प्राज्ञहरूको फोटोमाथि अच्छेता चढिरहेको थियो । नित्सेले चिच्याइरहेको आवाज आयो ।
...'तैँ हैनस ईश्वर ? अब मरिस !'
...'म ईश्वर हैन ! परमेश्वरको पुत्ला हुँ !
ईश्वरको शरीरमा पुतपुताइरहेको कालो धुँवा मरेको परमेश्वरको पुतलीबाट धुवाइरहेका थिए। झुम्नाको पुतली छियाछिया भएर सडकमा तेर्सिएको निर्जीव पुतली न रुन सक्थ्यो न त कराउन नै । केवल कुटिनु बाहेक उसले कुनै अर्थ दिन सकेन । नित्सेले फेरि कराए ।
...'अब तेरो ईश्वर मै हुँ !'
एकाएक समयमा आएको फेरबदलमा सिपाहीको साहसी दम्भ बाट गीतको भाका निस्क्यो ।
... प्रज्ञानको रक्षक को ?'
मरिरहेको झुम्नाको पुतलीलाई पनि खुब रिस उठ्यो । सडकमा पछारिएको अवस्था बाटै तनक्क खुट्टा तन्काएर उसले भन्यो ।
...सिपाही ! '
एकदिन सिपाहीको बारेको कथा पढ्न मन लागेर कोइरालाको सिपाही कथा पल्टाएथेँ । कथामा सिपाहीको चरित्र व्याख्यान थियो ।
... 'सिपाही बेलाबेला हात माथि उठाउँथ्यो । सुनको दाँत खिस्स देखाउँथ्यो । ओैँलाको ओैँठी हल्लाउँथ्यो । निकै पोजका साथ तरुनीहरूलाई पोज छोड्थ्यो- युद्धमा मुर्ख्याइँ र फुर्सदमा मासुको चम्का लगाउनु हाम्रो जात हो !'
झुम्राको पुतली विन बाजाले छेउमा बेलाबेला तर्सन्थ्यो । बाजा बजिरहेको थियो ।
...'थोत्रो सडक !'