'मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर'काे आयोजना

'मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर'काे आयोजना

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र १२, २०७९

कास्की ।  ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टी प्यालेस पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले को प्रशिक्षण रहने 'मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर'  विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा विज्ञानको सहायताबाट अकल्पनीय विकासका काम सम्भव भएता पनि आध्यात्मिकता बिना त्यो अधुरो रहने र मानव मनलाई शान्त र स्थिर बनाउनका लागि मेडिटेसन तथा योग अभ्यास अपरिहार्य रहने कुरामा जोड दिनुभयो । यस प्रशिक्षण कार्यक्रम पोखरेलीलाई लगि पक्कै नै उपलब्धीमूलक रहने तथा उपस्थित हुने प्रशिक्षार्थीहरू सबैको जीवन परिवर्तन गर्ने माध्यम बन्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै माननीय मन्त्रीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको  थियो ।

जीवनमा धन सम्पत्ती मान सम्मान जति कमाए पनि मनको शान्ति र खुशी भएन भने त्यो सबै अर्थहिन रहको बताउँदै ब्रह्मा कुमारीज नेपालका अध्यक्ष राजयोगिनी परिणीता दिदीले आज मानव मन अपवित्र र अशान्तमय हुँदै गइरहेको कारण अन्तर्मनमा लागेका क्रोध, लोभ, मोह, अभिमानका दागहरु भएको कुरा बताउनुभयो । दिदी ज्यूले शान्तिको हरेकलाई आवश्यकता हुनुको कारण शान्ति नै सबै मानव आत्माको ओरिजिनल संस्कार रहेको तथा जीवन यात्रा गर्ने क्रममा मनमा लागेको ती फोहोर दाग सफा गर्नको लागि यस्ता महत्वपूर्ण प्रशिक्षणहरू जीवन परिवर्तनका माध्यम हुन सक्ने भएकोले यो अनमोल अवसर नगुमाउन वहाँले सबैलाई आग्रह गर्नुभयो ।

स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा संस्थाका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराल ज्यूले वर्तमान तनावयुक्त माहोलमा सुखमय र शान्त जीवन बाँच्नका लागि हरेकले आध्यात्मिक पुरुषार्थ तथा अन्तर मनको शुद्धीकरणमा मा सजग रहनुपर्ने बताउनुभयो । मानिसले आज जीवनमा सुख वा दुख जे कुरा भोगिरहेको छ, त्यो कही न कही आफ्नै सोचको उपज हो भन्ने कुरामा जोड दिदै वहाँले भूतकालका घटनाका स्मृती र भावीको चिन्ता गर्नाले आज समाजमा तनाव र दुख बढ्दै गएको बताउनुभयो । प्रकृतिका तत्वहरु, आफ्नो जीवन, परिवार र समाजप्रति न्याय गर्नका लागि हरेक दिन केही समय आध्यात्मिक पुरुषार्थमा लाग्न जरुरी रहेको तथा यस कार्यक्रममा प्रशिक्षक राजु घलेबाट प्राप्त जिवन उपयोगी महत्वपूर्ण टिप्स हरुलाई जीवनमा चिन्तन, मनन र धारण गरेर आफ्नो जीवनमा पूर्णतया खुसी र आनन्द ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

पाँच दिवसीय कार्यक्रमका ओजस्वी प्रशिक्षक  राजु घलेले कार्यक्रमको शुभकामना मन्तव्य दिनका साथै प्रथम सत्रमा अति नै उत्साहपूर्वक प्रशिक्षार्थीहरूका लागि जीवन खुशीयाली बनाउने तरिकाका साथै राजयोगको गहन ज्ञानलाई सरल, व्यवहारिक र वैज्ञानिक प्रस्तुती प्रदान गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि पोखरा विश्व विद्यालय व्यवस्थापन संकायका डिन दयाराज ढकाल लगायत विभिन्न समाजसेवी राजनीतिज्ञ, नेतृत्व पंक्तिमा रहेका महानुभावहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, ब्रहमाकुमारी शाखा, उपशाखाका सञ्चालिका दिदी बहिनीहरू सहित करिव पाँचसय जनाको उपस्थिति रहेको थियो । तीन सत्र मध्ये मध्याकालीन सत्र पोखरा १५ शिवचोकमा रहने उक्त कार्यक्रमको कुशलतापूर्वक सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभा दिदीले गर्नुभएको थियो ।