मङ्गला मावि म्याग्दीमा कृषि विज्ञान विषयको पठनपाठन शुरु

मङ्गला मावि म्याग्दीमा कृषि विज्ञान विषयको पठनपाठन शुरु

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ १८, २०७६

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका स्थित बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु गरिएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक विषय अन्तर्गत चालू शैक्षिक सत्रदेखि उक्त विषयको पठनपाठन शुरु गरिएको विद्यालयले जनाएको छ । सो विद्यालयमा कक्षा ९ देखि १२ सम्म पठनपाठन हुने विद्यालयका  कृषि विज्ञान विषय कार्यक्रम संयोजक हुमनाथ पाण्डेले  जानरकारी दिनुभएको छ । अट्चालिस विद्यार्थीको कोटामध्ये यस शैक्षिक सत्रको लागि ४५ जना भर्ना भइसकेका र तीमध्ये २३ छात्रा र २२ छात्र रहेका छन ।  

वार्षिक एक हजार पूर्णाङ्ककको १०  विषय मध्ये चार वटा सामान्य र छ वटा कृषि विज्ञानसँग सम्बन्धित विषयको पढाइ हुने सहायक प्रशिक्षक सन्दीप केसीले जानकारी दिनुभएको छ ।  कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुने उहाँको भनाइ थियो । 

कृषि क्षेत्रको लागि आवश्यक दक्ष र योग्य जनशक्ति तयार पार्ने तथा स्वरोजगारको अवसर सिर्जना गर्ने सरकारको नीतिअनुसार यस वर्ष बाबियाचौरका साथै रघुगङ्गा गाउँपालिका–२ भगवतीको मुक्तिधाम माविमा कृषि विज्ञान विषयको पठनपाठन गर्न लागिएको हो । 

देशभित्र तथा विदेशमा रोजगारको अवसर भएको र जागिर नपाए हासिल गरेको शैक्षिक ज्ञानसीपले आफैँ स्वरोजगार बन्ने सम्भावना भएकाले कृषि विज्ञान विषय पढ्न थालेको विद्यार्थीको आकर्षण बढ्न थालको छ । 

उक्त माविमा यसअघि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुँदै आएको थियो । कृषि विज्ञान विषयको पठनपाठन शुरु भएपछि थप भौतिक पूर्वाधारको व्यवस्थापनका लागि पहल गरिएको प्रअ गमबहादुर खत्रीले बताउनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत चार कोठे भवन निर्माणाधीन छ । यसअघि तत्कालीन शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण भएको थियो । पुरानो भवन जीर्ण भएकाले त्यसलाई पुनःनिर्माण गर्न र छात्रावासको लागि भवन निर्माण गर्ने कार्यक्रम रहेको पनि प्रअ केसीले जानाकारी दिनु भयो ।