गठबन्धनको भाग अर्थ काँग्रेसलाई : देउवाको रोजाई र आशिर्वाद महतलाई !

गठबन्धनको भाग अर्थ काँग्रेसलाई : देउवाको  रोजाई र  आशिर्वाद महतलाई !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७९


सत्ता गठबन्धन दलहरुबीच भागबण्डा गर्दा अर्थ मन्त्रालय गठबन्धनकै सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई पर्ने निश्चित देखिएको छ । माओवादी केन्द्र र काँग्रेसबीच गृह र अर्थ मन्त्रालयमध्ये एक लिने अवस्थामा काँग्रेसको रोजाईमा अर्थ पर्ने देखिएको छ । 

देश यतिबेला चरम आर्थिक संकट, महंगी, व्यापार असन्तुलनको मार खेपिरहेको छ । यसलाई पार लगाउन अर्थ मन्त्रालयमा विज्ञ अर्थमन्त्री आवश्यक छ । काँग्रेसभित्र यतिबेला अर्थ मन्त्रालयमा सक्षम र प्रभावकारी कार्य सम्पादन गर्नसक्ने व्यक्ति पठाउनुपर्ने दबाब छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गत शनिबार केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भनेका थिए, ‘हामीले अर्थमन्त्री बनाउने व्यक्तिको नाम सुन्नासाथ शेयर बजार उकालो लागोस् ।’

काँग्रेसभित्र समेत अहिलेको सरकारको सफलता असफलता देशको आर्थिक संकटलाई पार लगाउन सक्ने अर्थमन्त्रीमा निर्भर रहेको बुझाई देखिन्छ । तर सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा डा.प्रकाश शरण महतलाई नै अर्थमन्त्री बनाउने सोचमा देखिएका छन् । काँग्रेसभित्रै महत पटक पटक अवसर पाएका नेता भएको र अर्थमन्त्री सक्षम व्यक्ति हुनुपर्ने भन्दै महतलाई अर्थमन्त्री बनाउन नहुने मत बलियो छ ।

तर सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कालाई भन्दा महतलाई नै च्याप्ने रणनीतिमा देखिन्छन् । जसले गर्दा महत अर्थमन्त्री बन्ने सम्भावना बलियो छ । पटक पटक पार्टीभित्र अवसर पाएको, गत निर्वाचनमा लड्न डराएर समानुपातिकमा बसेको, पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य जित्नु बाहेक अन्य कुनै प्रतिस्पर्धामा जित्न नसकेको छवि बनाएका महतले पटक पटक अवसर पाउनुका पछि भने उनी देउवाका विश्वासपात्र हुनु नै हो ।

तत्कालीन काँग्रेस प्रजातान्त्रिकबाट काँग्रेसमा फर्किएका मध्ये प्रकाशमान सिंह, विमलेन्द्र निधिजस्ता नेताले देउवाको साथ छाड्दा समेत महत उनको पक्षमा उभिए । जसको लाभ उनले पटक पटक लिइरहेका छन् । त्यसैले पनि महतलाई अर्थमन्त्री बनाउन नहुने आवाज काँग्रेसभित्रै छ । तर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत महतलाई अर्थमन्त्री बनाउन सहमति जुटाएका छन् । पार्टीबाट सरकारमा नेतृत्व गरेर जाने योजनामा रहेका पूर्णबहादुर खड्कालाई रक्षा मन्त्रालयमा पठाउने गरी तयारी भइरहेको स्रोतले बताएको छ । 

राष्ट्रपति निर्वाचनमा काँग्रेसलाई सघाउने माओवादीको निर्णयपछि तत्कालीन सत्तारुढ नेकपा एमालेले सरकार छाडेको थियो । एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल थिए । उनले छाडेपछि यो मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री आफैले लिइरहेका छन् । अर्थसहित प्रधानमन्त्रीसँग यतिबेला १६ मन्त्रालयको जिम्मेवारी छ । यसमध्ये १ मन्त्रालय माओवादीले लिएर अन्य मन्त्रालय सत्ता गठबन्धनबीच भागबण्डा गर्ने योजना छ । माओवादीले हाल नरहेका मध्ये गृह मन्त्रालय लिने सम्भावना बलियो छ । 

नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजना सुचारु भएका थिए भने चीन सरकारले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) लाई कार्यान्वयनमा ल्याउने सम्झौतामा हस्ताक्षर पनि भएको थियो। अहिले अर्थतन्त्रमाथिको दबाब कम गर्न र सुधार ल्याउन अर्थशास्त्र बुझेको व्यक्ति महत नै भएकाले उनलाई अर्थमन्त्री बनाउने योजनामा देउवा रहेको देउवा  निकट नेताहरुले बताउने गरेका छन् । 

अर्थ मन्त्रालयमा भने काँग्रेसले महतलाई पठाउने तयारी गरेका छन् । केही दिनअघि मन्त्रालयबारे छलफल गर्न गएका नेताहरुलाई समेत सभापतिले महतलाई अर्थमन्त्रीको आश्वासन दिइसकेकाले अन्य मन्त्रालयबारे छलफल गर्न आग्रह गरेका थिए । कांग्रेसले ७ मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति प्रचण्ड र देउवाबीच बनेको छ ।

कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्ने निश्चित भएको बताइन्छ । अर्थमन्त्री आफू हुन उपसभापति खड्का र प्रवक्ता महतबीच हानथाप छ । महतलाई देउवाले अर्थमन्त्री बनाउने सम्भावना बढी छ । देशको अर्थतन्त्र नै संकटमा रहेका बेला देउवाले महतमाथि ठूलो जिम्मेवारी सुम्पिने तयारी गरेका हुन् । परराष्ट्र सम्बन्ध समेत राम्रो भएका महतलाई अर्थमन्त्री बनाउँदा वैदेशिक अनुदान र सहयोग ल्याउन सहज हुने देउवाको विश्वास छ । 

महतले २०७३ मा परराष्ट्र मन्त्रालय सम्हाल्दा समेत भारतसँग तराई–मधेश आन्दोलनका कारण चिसिएको सम्बन्ध सुधार गर्न पटक पटक भारत भ्रमण गरेका थिए । उनको कार्यकालमा नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजना सुचारु भएका थिए भने चीन सरकारले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) लाई कार्यान्वयनमा ल्याउने सम्झौतामा हस्ताक्षर पनि भएको थियो । अहिले अर्थतन्त्रमाथिको दबाब कम गर्न र सुधार ल्याउन अर्थशास्त्र बुझेको व्यक्ति महत नै भएकाले उनलाई अर्थमन्त्री बनाउने योजनामा देउवा रहेको देउवा  निकट नेताहरुले बताउने गरेका छन् ।