स्रष्टाहरू  भोजपुरे, श्यामल र खतिवडालाई नगदसहित वासु शशी सम्मान

स्रष्टाहरू  भोजपुरे, श्यामल र खतिवडालाई नगदसहित वासु शशी सम्मान

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १४, २०७९

काठमाडौँ ।वासु शशी स्मृति परिषदले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको 'वासु शशी साहित्य सम्मान'  प्रदान गरेको छ । 

यसैगरी कवि श्यामललाई   २५,००० हजार नगदसहित २०७९ सालको 'वासु शशी साहित्य पुरस्कार'  र वासु शशीका नाटकमा नाट्यतत्वु शीर्षकमा विद्यावारिधि गर्नु भएका अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई  २१,००० हजार नगदसहित ' वासु शशी शोध पुरस्कार'  प्रदान गरेको छ । 

सोही अवसरमा प्रमुख अतिथि दिवसले समाजसेवी तथा साहित्यकार रमेश रेग्मीको तेस्रो कृति 'मेरो छोरा फर्किनै पर्छ'  कथासङ्ग्रह लोकार्पण गरेका थिए । प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष गणेश रसिक र सम्मानितहरु हिरण्य भोजपुरे, पुरस्कृतहरु श्यामल र डा. खतिवडाले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम बैद्यको  उपस्थिति रहेको थियो । 

सम्मानित व्यक्तित्व भोजपुरे  विगत छ दशकदेखि कविता, गीत, कथा, उपन्यास लेखनमा सक्रिय छन । उनको डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत तीन दशकदेखि सक्रिय साहित्यकार श्यामलको आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन् । 

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार हिरण्य भोजपुरे, साहित्यकार श्यामल र डा. गोपीकृष्ण खतिवडाले मन्तव्य राख्नु भयो । 

साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष विश्वविमोहन श्रेष्ठले वरिष्ठ कवि एवं नाटककार वासु शशी, हिरण्य भोजपुरे, श्यामल, डा। गोपीकृष्ण खतिवडाको परिचय राखेका थिए ।

साहित्यकार सुमन वर्षाले साहित्यकार रमेश रेग्मीको कथासङ्ग्रहबारे चर्चा गरिन भने परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कवि यादव भट्टराईले गरेका थिए ।