एमालेमा भीम रावलको अवस्था घरको न घाटको : न मिलन न बिछोड !

लोकसंवाद टिप्पणी

एमालेमा भीम रावलको अवस्था घरको न घाटको : न मिलन न बिछोड !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७९


तत्कालीन नेकपाको विभाजन र एमालेको पुनर्जन्मसँगै नेपालको राजनीति उथलपुथलतर्फ अघि बढ्यो । नेकपाको विभाजन र एमालेको उदयसँगै चर्चा र विवादमा रहेका पात्र हुन्, भीम रावल । उनी एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष थिए । त्यसैले तत्कालीन एमाले ब्युँतिदा उनी एमालेको उपाध्यक्ष नै बने ।

एमालेभित्रको आन्तरिक संघर्षमा माधवकुमार नेपालको साथ रहेका र विभाजनका समयमा नेपालको साथ छाडेर १० बुँदे सहमतिमार्फत एमालेमा बसेका नेता हुन्, रावल । तर एमालेमा बसेको यो समूह अध्यक्ष केपी ओली र ओली भक्तहरूको छायामा मात्र परेनन् दपेटाइमा परे र परिरहेका छन्  । एमालेका बसेका मध्ये घनश्याम भुसालले पार्टी नै छाडेर एकीकृत समाजवादीमा पुगेर महासचिव भएका  छन् भने रावल यतिबेला न त एमालेमा सक्रिय छन्, न एमाले छाड्न नै सकेको अवस्थामा छन् । 

पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग लड्ने रावल र भुसालको निर्णय नै उनीहरुको एमालेमा अपमानित बन्नुपर्ने कारण बन्न पुग्यो । १०औं महाधिवेशनमा रावलले अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएर २२३ मत ल्याएका थिए भने भुसाल ७३५ मत ल्याएर उपाध्यक्षमा पराजित भएका थिए । त्यसपछि एमालेबाट किनारा लाग्दै गएका दुवै नेताले गत निर्वाचनमा उम्मेदवार बन्न टिकट पाएनन् । त्यसलगत्तै स्वतन्त्र उम्मेदवारी दिएका भुसाल रुपन्देहीमा पराजित भए भने रावल उम्मेदवार नै बनेनन् । रावल यतिबेला घरको न घाटको अवस्थामा पुगेका छन् । 

एमालेले यतिबेला मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । जसअनुसार सोमबार रावलकै गृहजिल्ला अछामको साँफेबगरमा कार्यक्रम भएको थियो । जसमा सहभागी हुन उपाध्यक्ष विष्णु पौडेल गएका थिए । पूर्वउपाध्यक्ष भीम रावल पनि गृहजिल्ला अछाममा नै थिए । तर रावल कार्यक्रममा सहभागी भएनन् । 

‘उहाँले कैलालीमा बसेर अछाममा मेरा विरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ’ पौडेलले कार्यक्रममा भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’

मंगलबार पत्रकार सम्मेलन गर्दै नेता रावलले पनि आफूलाई उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नभएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा भने, ‘विष्णु पौडेलजीले म आउँदै छु तपाईंको गाउँमा भनेको भए मैले स्वागत गर्ने थिएँ ।’ सोमबारको कार्यक्रममा भीम रावल सहभागी नभएको विषयले चर्चा पाएको थियो । रावल पक्षका नेता कार्यकर्ताले होहल्ला नै गरेका थिए ।

कार्यक्रममा रावल सहभागी नभएको प्रसंग उठ्दा केही रावल समर्थकले भीम रावल खै, भीम रावल जिन्दावाद भन्ने नारा लगाएका थिए । पार्टीको नेतृत्वमा तहमा पुगेका र सुदूरपश्चिम, त्यसमा पनि गृह जिल्ला अछाममा राम्रो पकड भएका नेता रावल सहभागी नहुँदा चासो हुनु स्वभाविक हो ।

कार्यक्रममा उपाध्यक्ष पौडेल र पूर्वउपाध्यक्ष रावल एउटै मञ्चमा बस्ने वातावरण बन्न सकेन ।  सुदूरपश्चिममा बलियो प्रभाव रहेका रावलले टिकट नपाउनु तथा उनलाई अपमानित गरिनुले गत निर्वाचनमा एमालेले सुदूरपश्चिममा राम्रो झट्का बेहोर्‍यो । ग्रासरुट अभियानको सुदूरपश्चिममा अनुगमनको जिम्मेवारी उपाध्यक्ष पौडेललाई र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ ।

रावल भने एमालेमा जिम्मेवारी बिहीन अवस्थामा छन् । रावलविरुद्ध अध्यक्ष केपी ओली सहित ओली पक्षीय नेताहरु आक्रामक छन् । त्यसैले रावल पनि पौडेलसँगै एउटै मञ्चमा देखिन नचाहेको प्रष्ट देखिएको छ । 

रावलले आफूले पौडेल आउँदै गरेको थाहा पाएको भए स्वागत गर्थे भने पनि पौडेल भने रावलसँग आक्रामक छन् । उनले भीम रावल लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाउँदै अछाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको समेत आरोप लगाए ।

‘उहाँले कैलालीमा बसेर अछाममा मेरा विरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ’ पौडेलले कार्यक्रममा भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’

यतिमात्रै होइन उपाध्यक्ष पौडेल पौडेल रावलविरुद्ध प्रतिशोधमा उत्रिए । उनले भने ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसँग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन् ।’ पौडेलले रावलले गम्भीर गल्ती गर्दा पनि पार्टीले सहेको भन्दै सच्चिएर आउने समय सकिँदै गएको बताए ।रावलमाथि विगतमा संसदमा, सडकमा र निर्वाचनमा पार्टी विरुद्ध लागेको आरोप पनि पौडेलले लगाए ।

विगतमा संसदमा रावलले पार्टी विरुद्ध भूमिका खेलेको आरोप मात्रै लगाएनन्, स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा रावलले पार्टीका उम्मेदवारका लागि भोट नमागेको समेत बताए । 

पार्टीको १०औं महाधिवेशनमा रावललाई उपाध्यक्ष बन्न सुझाव दिँदा नमानेको, कार्यकर्ताले विश्वास नगरेर पराजित भएपछि केन्द्रीय सल्लाहकार परिषदमा मनोनित गर्दा स्वीकार नगरेको पौडेलले आरोप लगाए । यसले रावल अब  एमालेमा बस्नै नसक्ने  अवस्था सृजना भएको स्वयंले बताएका छन् । रावल भने अझै पनि एमालेमै रहने सोचमा देखिन्छन् । जसले निकै लामो राजनीतिक जीवनयात्रा बिताएका रावलको राजनीतिको उत्तरार्धमा  भने  पार्टी भित्र अपमानित भएर बस्ने वा विकल्प खोज्ने दोधारमा देखिएका छन् ।