धौलागिरि अञ्चल अस्पतालले शव राख्ने उपकरण ल्यायो

धौलागिरि अञ्चल अस्पतालले शव राख्ने उपकरण ल्यायो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ १८, २०७६

बाग्लुङ । धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरीद गरेको जानकारी दिएका छ ।

 धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त  रु १३ लाख ५० हजारले अस्पतालको शवगृहका लागि सो उपकरण खरीद गरिएको हो ।  
आफन्तले नबुझेका वा सनाखत नभएका व्यक्तिको शव लामो समय राख्न नमिल्ने भएकाले आधुनिक शव राख्न मिल्ने खालको उपकरण खरीद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले जानकारी दिनुु भएको छ । ‘अस्पतालमा शव खुला राख्दा सड्ने गनाउने तथा अस्पताल परिसरमा दुर्गन्धित हुँदै आएको थियौ’ रानामगरले भन्नुभयो– आधुनिक शव राख्ने उपकरण खरीद गरेसँगै वषौंदेखिको समस्या सदाका लागि अन्त्य हुनेछ । 

सो ‘मर्चुरी चेम्बर’मा एकै समयमा चारवटासम्म शव राख्न सकिन्छ । वि.सं २०६७ मा बाग्लुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको बिरामीको गुनासो बढेसँगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ चिकित्सकसमेत राखिएको छ । 

हाल सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरिरहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । उक्त अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप ह्वात्तै बढेको पनि राससको समाचरमा उल्लेखछ ।