नेपालगन्ज उपमहानगरभित्रै करिब १२ सय लागुऔषधका दुर्व्यसनी

नेपालगन्ज उपमहानगरभित्रै करिब १२ सय लागुऔषधका दुर्व्यसनी

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ १८, २०७६

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा हाल एक हजार १९७  लागुऔषध दुव्र्यसनी रहेको आंकडा सार्वजनिक गरिएको छ । 

लागुऔषध दुव्र्यसनविरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुव्र्यसनी फेला परेको हो । उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी गरिएको प्रारम्भिक सर्वेक्षण अनुसार  नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको र एक हजार १६३ पुरुष र ३४  महिला लागुऔषधको दुव्र्यसनीहरु रहेको पाईएको थियो । 

तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५, सुँघ्ने ६३  र सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने नौ जना रहेका छन् ।

सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका मानिस एक हजार तीन, १२ वर्षमुनिका ६४ र ५० देखि ६१ वर्ष उमेर समूहका १३० जना रहेका छन । लागुऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार  गर्दै आएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएकोे छ । यो कूल सङ्ख्याको २० प्रतिशत मात्रै हो । सर्वेक्षणअनुसार नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या भयावह देखिएको साहारा हाउस नेपालगञ्ज शाखाका सञ्चालक अभिराज क्षेत्रीले बताउनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । ‘लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम पनि उच्च रहेको छ, उहाँले भन्नुभयो –यकिन तथ्याङ्क नहुँदा रणनीति तयार गर्न समस्या भइरहेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले प्रारम्भिक तथ्याङ्कले आगामी दिनमा अन्सन्धानमा टेवा पुर्‍याउने बताउनुभयो । उहाँले भन्नुभयो– एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोवबार घटेपनि ब्राउन सुगर, चरेश, अफिमलगायत महँगो मूल्यका लागुऔषध प्रयोगकर्ता बढेको छ । लागुऔषध कारोवारका लागि नेपालगञ्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ । 
उक्त ब्यूरोकाअनुसार जिल्लामा चालू आवको १० महीनामा प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ । यो अवधिमा २९७ पक्राउ परेका  थिए भने १९२ मुद्दा दर्ता गरिसकिएको छ । सो उपमहानगरपालिकाको सहयोगमा लागुऔषधविरुद्ध नेपालगञ्जमा क्रियाशील विभिन्न संस्थाले उक्त  सर्वेक्षण गरेकाको कुरा राससको समाचारमा उल्लेख छ ।