डा.स्वर्णिम वाग्ले : लालसा र जालसाजीको राजनीति त्याग कि पार्टीमा वैकल्पिक नेतृत्वको तयारी ?

लोकसंवाद टिप्पणी

डा.स्वर्णिम वाग्ले : लालसा र जालसाजीको राजनीति त्याग कि पार्टीमा वैकल्पिक नेतृत्वको तयारी ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७९

नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि देशको अवस्थामा  परिवर्तन हुन नसकेको भन्दै असन्तुष्टि चरम चुलीमा  चुलिएको छ ।  त्यसको प्रमुख कारण भनेको व्यवस्था फेरिए पनि नेता नफेरिनु, कुनै व्यवस्थाले पुरानो व्यवस्थाका अवशेषहरूलाई पूर्ण रुपमा समाप्त नपार्नु, परिवर्तनका पक्षधर शक्तिहरु निर्णायक अवस्थामा नपुग्नु र जसले परिवर्तनका नारा दिन्छन्,  तिनीहरु जनताका आवाजप्रति जिम्मेवार नहुनु हो ।

धेरै राजनीतिक परिवर्तन हुँदा पनि देशको अवस्था र जनताको जीवनपद्धतिमा देखिने गरी सुधार नआउनुलाई कतिपय ‘सतीले सरापेको देश’ भनेर आफ्ना कमजोरी ढाकछोप  गर्ने प्रवृति नै देखिने गरेको छ ।  तर यो देशको इतिहासदेखि वर्तमानसम्मको एउटै समस्या भनेको अक्षम सत्तामा पुग्ने र सक्षमहरुले तिनीहरुको ब्रम्हलुट हेरेर बस्नुपर्ने बिडम्बना पूर्ण अवस्था हो । 

अहिले पनि प्रमुख पार्टीहरूमा रहेको नेताहरुको चाङ र अक्षम भीडले नेपाली राजनीतिको गतिशीलतालाई गिज्याइरहेको छ । देशको राष्ट्रिय राजनीति, कूटनीति, अर्थनीति, प्रशासन सञ्चालन गर्न विज्ञहरु त्यो भूमिकामा पुग्नु जरुरी हुन्छ । तर नेपालमा विज्ञहरुलाई राजनीतिक दलले करले स्वीकारेजस्तो गर्नुबाहेक उनीहरुको भूमिका गौण देखिन्छ ।

त्यतिमात्रै होइन, उनीहरुलाई लोकतान्त्रिक रुपमा प्रतिस्पर्धा गर्न समेत बञ्चित गरिन्छ । देशलाई अग्रगमनको दिशामा लैजाने, राजनीतिलाई पुस्तान्तरणको दिशामा लैजान कोशिस गर्नेहरु सधै पुराना र बुढा पुस्ताको हेपाई वा बलमिच्याइँ पर्ने गरेका छन् । कुनै नेताले एउटा निश्चित अवधिसम्म देशको नेतृत्व गरेपछि उसले फेरि त्यही भूमिकाका लागि पर्खिएर बस्ने तर नयाँ र फ्रेस पुस्तालाई मौका नै नदिने परिपाटीले देशको राजनीतिलाई ‘हिउँदको ढल’ जस्तो दुर्गन्धित बनाएर जाम पारेर राखेको छ । 

यो जाम खोल्न न त परिवर्तन गर्छौं भन्ने नारा लिएर आएका नयाँ दलहरुले सकेका छन्, न पुराना र लोकतान्त्रिक भनिने दलले त्यसलाई अंगीकार गर्न सकेका छन् । बरु नेपालको राजनीतिका शीर्ष नेताहरुको मृत्यु पर्यन्त कुर्सीमा बस्ने चाहनाले राजनीतिप्रति युवाहरुको वितृष्णा बढिरहेको छ । 

यसले काँग्रेसका लागि क्षतिका रुपमा लिएका छन कतिले  मन एकातिर पार्टी अर्को तिर हुनुलाई स्वभाविक रुपमा लिइएको छ । चुनाव सकिएको छ महिना पनि नवित्दै राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका अध्यक्ष रवि लामिछानेको लोकप्रियता ह्वात्तै घटेको अवस्थामा पार्टीको वैकल्पिक नेतृत्वका लागि  स्वयं स्वर्णिम तयार भएर गएको समेत अनुमान गर्न थालिएको छ । 

बिहीबार मात्रै अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्दैै राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको विषयले सामाजिक सञ्जाल तातेकाे छ ।  रास्वपाको गोलमटोल राजनीतिक दिशाले उति धेरै आशा गरिहाल्ने ठाउँ नभए पनि वाग्लेले तत्कालका लागि रास्वपा रोजेको देखिएको छ । कांग्रेसको आर्थिक नीति र योजना निर्माण तथा वौद्धिक विमर्शमा संलग्न स्वर्णिमको निर्णयले कांग्रेसमाथि पुनः एक पटक  प्रश्न उठेको छ । के नेपाली राजनीतिमा विज्ञको कुनै स्थान छैन हो ? 

स्वर्णिमले पाँच दशक लामो पारिवारिक विरासत गाँसिएको कांग्रेस छाड्नका पछि देउवा–आरजु समूहको निरन्तरको हेपाई र अपमानलाई कारक बताएका छन् । पछिल्ला वर्षहरुमा स्वाभिमानी कांग्रेसको शिर निहुरिने अवस्था आएको भन्दै उनले कांग्रेसबाट अलग भएको घोषणा गरे । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

उनले सिधा नभने पनि घुमाउरो पाराले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा लगायतले नै पार्टीलाई समस्यामा पारेको उल्लेख गरेका छन् । उनले गत ४ मंसिरको निर्वाचनमा चुनाव लड्न चाहेका थिए । चितवनमा उनले टिकट पाउने चर्चा भए पनि पाएनन् । स्वर्णिमका लागि महामन्त्री गगन थापा काठमाडौं–४ छाडिदिन तयार भएका थिए । उनले काठमाडौं छाडेर सर्लाही–४ मा चुनाव लड्ने बताएपछि सभापति शेरबहादुर देउवाले स्वर्णिमको साटो आफूनिकट नैनसिंह महरलाई उम्मेदवार बनाउने तयारी गरेपछि गगनले काठमाडौं–४ छाडेनन् ।

चितवनमा पनि वाग्लेले टिकट पाएनन् र विश्व पौडेललाई देउवाले टिकट दिए । यो काण्डबाट वाग्ले काँग्रेससँग रुष्ट थिए । तर उनले काँग्रेस छाड्ने नै निर्णय गरेका थिएनन् । पछिल्लो समयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई विज्ञ सल्लाहकार नियुक्त गर्न चाहे पनि देउवा दाइना नहुँदा उनले मौका पाएनन् । पौडेलले आफूले नियुक्त गर्न खोजे पनि देउवा वाग्लेको पक्षमा नभएको बताएपछि उनी बिरक्तिएका हुन् । पौडेलको कानुनी सल्लाहकारमा बाबुराम कुँवर र आर्थिक सल्लाहकारमा पूर्व गभर्नर चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । 

वाग्लेले बिहीबार मात्रै महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइराला र गोविन्दराज पोखरेललाई सन्देश पठाउँदै देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा रहन नसक्ने अवस्था आएको बताएका थिए । यसले पार्टीभित्र सक्षम व्यक्ति टिकेर बस्न कठिन रहेको देखाउँछ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु, केही शीर्ष भनिएका नेताहरुले नेतृत्वदेखि सबै ठाउँमा होल्ड गर्नु तथा तीनकै आफन्तको हालीमुहाली चल्नुले पनि पार्टीभित्र विज्ञ भएर पनि इमान्दार राजनीति गर्नेहरुलाई कठिन हुँदै गएको हो । अक्षम हरुले पार्टीको नेतृत्व गर्ने, तिनीहरूकै वरिपरी घुम्नेहरूले पार्टी चलाउने र उनीहरुको स्वार्थ अनुसार नचल्दा जुनसुकै व्यक्ति पनि नटिक्ने अवस्था आएको हो । 

स्वर्णिमलाई मंसिर ४ मा नै काँग्रेसले टिकट नदिएपछि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलबाट चुनाव लड्न प्रस्ताव गरेका थिए । तर उनी त्यसबेला गएनन् । उनी कांग्रेसको चुनावी घोषणा पत्र निर्माण कार्यदलमा थिए । जुन भूमिका उनले पूरा गरे । 

त्यसो त देउवाले आफू प्रधानमन्त्री भएका बेला साउन २०७४ मा स्वर्णिमलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । अन्तर्राष्ट्रिय मञ्चमा राख्नुपर्ने धारणाबारे पनि देउवाले स्वर्णिमसँग सरसल्लाह गर्दै आएका थिए । तर पछिल्लो समयमा देउवाका निर्णयमा पत्नी आरजु हाबी हुन थालेपछि स्वर्णिम किनारा लाग्दै गए । किनकि देउवा पत्नी आरजु र योजना आयोगको उपाध्यक्ष भएका विश्व पौडेलबीच राम्रो सम्बन्ध छ । 

काँग्रेस छाडेको घोषणा गर्दै उनले लेखेका छन्, ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’ उनले नयाँ शक्तिको कुरा गरे पनि उनी रास्वपाबाट तनहुँ–१ मा उपचुनाव लड्ने तयारीमा छन् ।

यो घटनाले काँग्रेसका दुई शक्तिशाली महामन्त्रीमाथि समेत प्रश्न उठेको छ । उनीहरु महामन्त्री हुने र पार्टीको युवा तथा विज्ञ व्यक्तिले अपमानित भएर पार्टी त्याग्नुपर्ने अवस्था आएको भनेर आलोचना भइरहेको छ । कतिले त  उनीहरुकै पनि काँग्रेस पार्टीमा भविष्य छ कि छैन भन्ने प्रश्न उठाएका छन् । काँग्रेसले लालसा र जालसाजी पूर्ण राजनीतिकै कारण एउटा विज्ञ व्यक्ति गुमाएको हो कि २०७९ मंसिर ४ को चुनावमा चर्चा गरिए झैँ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी लहर आउँदा नै राष्ट्रिय र अन्तराष्ट्रिय माहोल बनाउन   स्वर्णिमको सोच र  हात रहेको आरोपलाई भने स्वयंले पुष्टि गरेका छन् । 

 यसले काँग्रेसका लागि क्षतिका रुपमा लिएका छन कतिले  मन एकातिर पार्टी अर्को तिर हुनुलाई स्वभाविक रुपमा लिइएको छ । चुनाव सकिएको छ महिना पनि नवित्दै राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका अध्यक्ष रवि लामिछानेको लोकप्रियता ह्वात्तै घटेको अवस्थामा पार्टीको वैकल्पिक नेतृत्वका लागि  स्वयं स्वर्णिम तयार भएर गएको समेत अनुमान गर्न थालिएको छ ।