फाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’

फाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ १८, २०७६

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ ।

बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ)मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यू–टावर निर्माण गर्न लागिएको छ । चालू वर्षमा बेनी नगरपालिका तथा वडा कार्यालयको रु पाँच लाखको लागतमा  सो टावर निर्माण थालिएको उक्त वडाका वडाध्यक्ष लक्ष्मण बानियाँले जानकारी दिनुभएको छ । 

वडा तथा नगरपालिकामार्फत् नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा जोड दिई धार्मिक पर्यटकलाई जनन्नाथ मन्दिरसम्म ल्याउन र यहाँबाट प्राकृतिक दृश्यावलोकन गराउन भ्यू टावर निर्माण गर्न लागिएको हो । 

जगन्नाथ मन्दिरमा धार्मिक र गुफाको डाँडोमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसहित भ्यू–टावर निर्माणको काम अगाडि बढाइएको जगन्नाथ भ्यू–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो । 

बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात केभहिलमा हालै स्थानीयवासीको सक्रियतामा हेलिप्याडसमेत निर्माण गरिसकिएको छ । जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा गुफाको डाँडो र ३० मिनेटको दूरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र समेत रहेको  छ ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको गुफाको डाँडाबाट विश्वको सातौँ अग्लो चुचुरो धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि, मानापाथी, गुर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करीब डेढ दर्जन हिमशृङ्ला अवलोकन गर्न सकिन्छ । गुफाको डाँडाबाट म्याग्दी जिल्लाका साविक ४१ मध्ये ३७  गाविस र पर्वत, बागलुङसहित अन्य जिल्लाका डाँडाकाँडासमेत देख्न सकिन्छ । मन्दिर तथा गुफाको डाँडा नजिकै बाइसे–चौबीसे राज्यका पालामा निर्मित ऐतिहासिक डढेकोट राजदरबारको संरचना पनि छ । कन्टेन्टजेन्सीसहित रु पाँचलाखमा निर्माण गरिने सो टावरका लागि रु ८५ हजार १४७ बराबरको जनश्रमदान जुुटाउने तयारी भइरहेकोे छ । कूल ३६ फिट उचाइको सो टावरले १७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल ओगटेको यसमा सात वटा उक्लने र ओर्लने भाग रहेको बेनी नगरपालिकाका सव–इञ्जिनीयर अर्जुन थापाले जानकारी दिनुभयो ।