निर्माता बनाउँछु भन्दै ठग्ने प्रसाद-२ का निर्माता सुवास थापा जोगाउँदै बोर्ड अध्यक्ष भुवन केसी

निर्माता बनाउँछु भन्दै ठग्ने प्रसाद-२ का निर्माता सुवास थापा जोगाउँदै बोर्ड अध्यक्ष भुवन केसी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २०, २०७९

काठमाडौँ । निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। केशव पाण्डेले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट पक्राउको अनुमती ल्याएको हो।

काठमाडौं परिसर प्रमुख दानबहादुर कार्कीले थापा बिरुद्ध उजुरी परेको र उनी फरार रहेको बताए। प्रसादको निर्माता रहेका उनले प्रसाद(२ को निर्माता बनाउँछु भन्दै पाण्डेसँग ६२ लाख ५० हजार लिएर पछि अर्कैलाई निर्माता बनाएर फिल्मको छायांकन सक्काएका थिए।

थापाले कलाकार, प्राविधिक र फिल्म सुटिङ गरेको कास्कीको होमस्टेको समेत पैसा नदिई फरार भएपछि कलाकार संघ, प्राविधिक संघ र चलचित्र विकास बोर्डमा उजुरी परिसकेको छ। पाण्डेले निर्माता संघमा समेत उजुरी दिएको बताए। 

उनले थापाको बदमासी खुलाउँदै चलचित्र विकास बोर्डमा उजुरी दिन खोज्दा बोर्डका अध्यक्ष भुवन केसीको निर्देशनमा निवेदन दर्ता नगरेको बताए।

प्रसाद-२ का वितरक गोपाल कायस्थले केसीलाई प्रभावमा पारेर फिल्म रिलिज गराउने तयारी गरेका छन्। प्रहरीले बोर्डमा समेत थापा विरुद्ध पक्राउ आदेश आएको जानकारी गराउँदै उनी बोर्डमा आए जानकारी दिन पत्राचार गरिसकेको छ।

फिल्मको आवरणमा ठगी गर्दै आएका उनले प्रसाद-२ छोराको नाममा दर्ता गरेर सेन्सर पास गराउने प्रयास गरेका छन्। फरार रहेका थापालाई सुनिलकुमार थापाले समेत सघाइरहेका छन्। 

बैंकिङ कसुरमा फरार रहेका थापाले फेसबुकमा लेख्दै फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन् ।