तीन क्षेत्रको उपनिर्वाचन:  पल्ला  कसको भारी ?

तीन क्षेत्रको उपनिर्वाचन:  पल्ला  कसको भारी ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७९

वैशाख १० गते चितवन–२, तनहुँ– १ र बारा–२ मा हुने उपनिर्वाचनको रौनकले छोइसकेको छ । यी निर्वाचन क्षेत्रमा गत ४ मंसिरमा भएको निर्वाचनमा रास्वपाका रवि लामिछाने, काँग्रेसका रामचन्द्र पौडेल र जसपाका रामसहाय यादव निर्वाचित भएका थिए । उपनिर्वाचनमा पनि यी तीन पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यसबाहेक एमालेले तीनै क्षेत्रमा उम्मेदवार दिएको छ । माओवादसहितका दलहरु भने सत्ता गठबन्धनमा रहेको काँग्रेस र जसपालाई सघाउने तयारीमा छन् । 

रास्वपाका सभापति रवि लामिछानेले संसदमा आफूले एक सिट गुमाएको भन्दै त्यसको बदलामा थप २ सिट लिएर संसद छिर्ने उद्घोष गरेका छन् । चितवन पुगेर काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारिता गर्दा सबै नेता खराब र राजनीति गर्दा सबै पत्रकार खराब देख्ने व्यक्ति फेरि संसदमा पुग्नु उपयुक्त नहुने भन्दै चितवनका जनताले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।

चितवन–२ मा उनी निर्वाचनको कमाण्डर हुन् । काँग्रेसलाई चितवन–२ मा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका गठबन्धन दलको पनि समर्थन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको रास्वपा भने तीनै ठाउँमा एक्लै चुनावी मैदानमा उत्रिएको छ । काँग्रेसको हाल संसदमा ८८ सिट छ । तनहुँबाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि काँग्रेसको एक सिट घटेको हो । काँग्रेसले अब उपनिर्वाचनबाट २ सिट थप्ने लक्ष्य राखेको छ । बारामा भने जसपालाई सघाएको छ । 
काँग्रेसभित्र राम्रो अर्थशास्त्रीका रुपमा मानिने स्वर्णिम वाग्लेले हालैमात्र पार्टी छाडेर तनहुँबाट रास्वपाको तर्फबाट उम्मेदवार बनेका छन् । काँग्रेसले कुनै पनि क्षेत्रमा अवसर नदिएको भन्दै तीव्र असन्तुष्टि पोख्दै रास्वपाका उम्मेदवार बनेका वाग्ले तनहुँमा काँग्रेसकै उम्मेदवारमाथि भारी पर्नसक्ने अनुमान समेत गरिएको छ । 

तनहुँमा काँग्रेसले अर्का महामन्त्री गगन थापालाई चुनावी कमाण्डर बनाएको छ । तनहुँबाट उम्मेदवार बनेका गोविन्द भट्टराई हालका महामन्त्री विश्वप्रकाश शर्माभन्दा अघि काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सभापति भइसकेका व्यक्ति हुन् । वाग्ले विगतमा काँग्रेसमा हुँदा शेखर–गगन समूह निकट मानिन्थे । त्यसैले स्वर्णिमको चुनावी अभियानलाई टक्कर दिन गगन आफैंलाई पनि सहज छैन । अर्कातिर एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेको एमाले पनि तनहुँमा काँग्रेस र रास्वपाको लडाईँलाई पन्छाएर जित निकाल्ने दाउमा छ । 

मंसिर ४ मा भएको प्रतिनिधिसभा चुनावमा तनहुँ– १ बाट कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी ६ हजार ८८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए ।

उपनिर्वाचन जितेर आफू संसद छिर्नेमा ढुक्क देखिन्छन् काँग्रेसका भट्टराई । तर एमाले र रास्वपाका उम्मेदवारलाई हराउन उनलाई सोचेजति सजिलो भने छैन । उनले गुणस्तरीय शिक्षा, युवालाई अवसर र वृद्धवृद्धाको हेरचाहजस्ता विषय आफ्नो चुनावी एजेन्डा बनाएका छन् । तर विगतमा काँग्रेसकै पृष्ठभूमि भएका र निरन्तरको अपमान भएको भन्दै पार्टी छाडेका स्वर्णिम वाग्ले काँग्रेसकै लागि चुनौती बन्न सक्छन् । उनको पक्षमा युवाहरुको राम्रो जमात देखिएको काँग्रेसकै नेताहरु स्वीकार गर्छन् । 

गत मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत, माओवादीले ७ हजार ३२६ र एकीकृत समाजवादीको ९५० मत पाएका थिए । समानुपातिकतर्फ एमालेले १६ हजार ६८३ र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ६३२ मत पाएका थिए ।

यो मतका आधारमा काँग्रेस सबैभन्दा ठूलो पार्टी देखिन्छ । उसलाई गठबन्धनको साथ हुँदा चुनाव जित्ने सम्भावना बढी छ । तर नयाँ उम्मेदवारको पक्षमा आइरहेका लहरमा पुरानो हिसाबले काम नगरेको मंसिर ४ कै निर्वाचनमा देखिएको हो । त्यसैले अहिले नै यसै हुन्छ भन्न सकिने अवस्था छैन । 

जनमत पार्टीका राजेश साहले २ हजार ७२५, नागरिक उन्मुक्तिका तेजबहादुर भगतले १ हजार १११  मत पाएका थिए । यसपटक बारा–२ बाट जसपाका उपेन्द्र यादव, माओवादी छाडेर जनमत गएका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल मुख्य प्रतिस्पर्धी छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारले पाएको मत जतातिर जान्छ, उसैको पल्ला भारी हुने देखिन्छ । 

कांग्रेसबाट चितवन–२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् । उनी चितवनका लोकप्रिय नेता मानिन्छन् । श्रेष्ठका मुख्य प्रतिस्पर्धी रास्वपाका रवि लामिछाने र एमालेका रामप्रसाद न्यौपाने हुन् । 
गत मंसिर ४ मा भएको चुनावमा प्रत्यक्षतर्फ ४९ हजार ३ सय मत ल्याएर रास्वपाका रवि लामिछाने विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९८८ र एमाले नेता कृष्णभक्त श्रेष्ठले १४ हजार ६५२ मत पाएका थिए । यसरी हेर्दा लामिछाने सबैभन्दा फराकिलो मतान्तरले निर्वाचित भएका थिए । काँग्रेस र एमालेको मत जोड्दा समेत लामिछानेले पाएको जति मत पुग्दै यो क्षेत्रमा लामिछाने यसपटक पनि मुख्य प्रतिस्पर्धी देखिन्छन् । 

बारा–२ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपति भएपछि सो क्षेत्र खाली भएको हो । उनले माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई हराएका थिए । कुशवाहलाई काँग्रेससहितका दलको समर्थन थियो । यसपटक काँग्रेस र माओवादीसहित सत्ता गठबन्धनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाएका छन् । अघिल्लो निर्वाचनमा एमालेले जसपालाई सघाएको थियो । 

जसपाका यादवले १३ हजार ८२३ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी माओवादीका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत पाएका थिए । यहाँ स्वतन्त्र उम्मेदवारको मत निर्णायक बन्नेछ ।

जनमत पार्टीका राजेश साहले २ हजार ७२५, नागरिक उन्मुक्तिका तेजबहादुर भगतले १ हजार १११  मत पाएका थिए । यसपटक बारा–२ बाट जसपाका उपेन्द्र यादव, माओवादी छाडेर जनमत गएका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल मुख्य प्रतिस्पर्धी छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारले पाएको मत जतातिर जान्छ, उसैको पल्ला भारी हुने देखिन्छ ।