१३ प्रहरी नायब महानिरीक्षकका लागि १८ प्रहरी वरिष्ठ उपरीक्षकको शक्ति केन्द्रमा दौडधुप !

१३ प्रहरी नायब महानिरीक्षकका लागि १८ प्रहरी वरिष्ठ उपरीक्षकको शक्ति केन्द्रमा दौडधुप !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७९

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक  (एआइजी)को बढुवा भएपछि रिक्त रहेको १३ प्रहरी नायब महानिरीक्षक  (डिआइजी) को बढुवा प्रकृया अघि बढने भएको छ । प्रहरी प्रधान कार्यालयले १३ डिआइजीको बढुवाका लागि प्रकृया शुरु गर्ने गरी फाइल तयार पारेको छ ।

अहिले १३  पदका १८ एसएसपी प्रतिस्पर्धी रहेका छन् । अघिल्लो पटक बढुवामा छुटेका र पछिल्लो व्याजीहरुलाई समेत समेटेर बढुवा गर्ने तयारी भएको हो  । प्रतिस्पर्धीहरुको मूल्यांकन गरेर  केही समयपछि डिआइजीको सिफारिस गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । नयाँ गृहमन्त्री आएसँगै उनीहरुको बढुवा सिफारिस तयारी गरिएको हो । 

बढुवाका लागि एसएसपीहरु जनकराज भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुमार खापुङ, अर्जुन चन्द ठकुरी, सुरेन्द्र मैनाली कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल छन् । बढुवाका लागि उनीहरुले शक्ति केन्द्रमा आफ्नो कुरा पुर्‍याउने र दौडधुप जारी राखेका छन् । 

प्रतिस्पर्धीहरु मध्ये सुरेन्द्र मैनाली, चक्रबहादुर सिंह र विकाराज खनाल बढुवा नभए एसएसपीमै विदा  हुने अवस्थामा छन् । यी मध्येका खनाल सबैभन्दा सिनियर हुन् । उनी लागुऔषध ब्यूरोको प्रमुख रहेका छन् । त्यसैगरी भट्टराई, बास्तोला र बोहोराले प्रदेश प्रमुखको जिम्मेवारी पाइ सकेकाले उनीहरुको बढुवा निश्चित जस्तै भएको बताइन्छ  । ‘निमित्तको जिम्मेवारी पाएका छन् उनीहरुको बढुवा निश्चित छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । उनका अनुसार कर्मचारी प्रशासन फाँटका एसपी वेलबहादुर पाण्डेले बढुवाको फाइल उठाएर राखेका छन् । 

बढुवा अघि नै प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुखहरुको टुंगो  लगाएको थियो । जसमा शुरुमा डिआइजी किरण राणालाई मधेश प्रदेशमा प्रमुखमा खटाएको थियो । तर प्रधानमन्त्री कार्यालयबाटै उनको सरुवा रोकिएपछि एसएसपी भट्टराई त्यहाँ पठाइएको हो । राणाको भने बाग्मती प्रदेशमा सरुवा भएको थियो । बढुवा नभइकन कोशी प्रदेशमा बास्तोला, मधेशमा भट्टराई, सुदुरपश्चिममा बोहोरालाई पठाइएको हो ।

‘केही दिनमा डिआइजीहरुको बढुवा सिफारिस हुनेछ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । अघिल्लो पटक छुटेका केसी, खनाल र मैनालीलाई पनि बढुवा गर्ने दबाब रहेको छ । आइजीपी नियुक्ति भएका केही दिनमा एआइजी बढुवा सिफारिस भएको थियो । त्यसपछि डिआइजी बढुवा सिफारिस भने रोकिएको छ । दुई दिन अघि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी प्रधान कार्यालयको निरिक्षण भ्रमणमा पुगेका बेला सरुवा र बढुवा नरोक्न प्रहरी महानिरिक्षक बसन्त कुँवरलाई निर्देशन दिएका थिए ।