ह्याचरी उद्योगीको गृहमन्त्रीसँग गुनासो : 'डेढ खर्ब रुपैयाँ लगानी जोखिममा'

ह्याचरी उद्योगीको गृहमन्त्रीसँग गुनासो : 'डेढ खर्ब रुपैयाँ लगानी जोखिममा'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २५, २०७९

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए । 

५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुवै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए । 

'नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ । भारतीय सीमानाकाहरूबाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहुँ भित्रँदा यस पेसालाई अत्यन्त ठूलो जोखिम छ', दुवै संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ ।

भारतमा समय समयमा देखापर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग मित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजस्व चुहावटसमेत हुने गरेको उल्लेख छ ।

भारतबाट प्रज्ञापनपत्र लिएका मालबाहक कन्टेनरहरूमा स्विट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाइ गर्न आग्रह गरेका हुन् ।

नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगन्ज, बारा, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर, विराटनगर नाकाहरूबाट अवैध रूपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ ।

विशेषगरी भारतीय सीमानाकाहरूका जिल्लामा संचालित कोल्ड स्टोर्सहरूले भारतबाट अवैध रूपमा कुखुरा आयात गरी ड्रेसिङ गरेर नेपालका प्रमुख शहरहरूमा कुखुराको मासु निर्यात गरिरहेको, भारतीय सीमानाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ ।

सीमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिँदै आएको छ ।

दुवै संघले भारतीय सीमानाकाहरूबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरूको नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिन माग गरेका थिए ।

व्यवसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारका तस्करी हुन नदिनेगरी अगाडि बढेको बताएका थिए ।

आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिएका थिए ।