विद्यार्थी बोकेको जीप दुर्घटनामा १ जनाको मृत्यु

विद्यार्थी बोकेको जीप दुर्घटनामा १ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र २७, २०७९

कैलालीको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सुपप्र ०१–००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका– ६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको कैलालीका एसपी वेन्द्र पालले बताए ।

मृतक अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रबाट एसईई दिएर घर फर्किँदै थिए । अत्तरियाबाट फल्टुडे जाँदै गरेको जिपमा सवार १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीय सरस्वती धामी घाइते भएका छन् ।

घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार हुँदै छ । घाइतेहरू पनि एसईई दिएर फर्किएका हुन् । जीप अनियन्त्रित भएपछि चालकले भित्तामा ठोक्काएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी पालले जानकारी दिए ।