तालाबन्दीले त्रि-चन्द्र स्ववियु निर्वाचनमा अवरोध

तालाबन्दीले त्रि-चन्द्र स्ववियु निर्वाचनमा अवरोध

लोकसंवाद संवाददाता  |  शिक्षा  |  चैत्र २७, २०७९

त्रि-चन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अनिश्चित देखिएको छ ।

आज बिहान ९ देखि ११ बजेसम्म मनोनयनपत्र वितरणको समय तय भएकामा क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ ।

आइतबार नेविसंघका नेता, कार्यकर्ताहरूले विद्यार्थी भर्नाको रजिस्टर र अनेरास्ववियुले लेखा शाखाको रजिस्टर लिएर गएकाले तनाव सिर्जना भएको एक विद्यार्थीले बताए ।

यसअघि ९ चैतमा निर्वाचन हुने भनिएकामा ४ गते नै निर्वाचन समितिको कार्यालयमा ताला लागेपछि स्थगित भएको थियो ।

२२ गते ताला खोलिएपछि प्रक्रिया अगाडि बढेको थियो, जसअनुसार आज ११ देखि ५ बजेसम्म मनोनयनपत्र दाखिलाको समय तय भएको थियो ।

३० चैतलाई मतदानको मिति तोकिएको थियो ।

अहिले त्रि-चन्द्र परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।