रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड दिने घोषणा

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड दिने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १८, २०७६

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । 

कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री रहँदा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएको थियो । 

अधिकारीको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । सो प्रतिष्ठानलाई सरकारकोतर्फबाट रु एक करोड उपलब्ध गराउने घोषणा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउने आकाङ्क्षालाई पूरा गर्न सो प्रतिष्ठानको स्थापना भएको हो ।’

रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिष्ठानलाई जीवन्त राख्नका लागि सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरी राखेर कार्य गर्नुपर्ने र प्रतिष्ठानलाई राजनीतिक विवादबाट पृथक राख्नका लागि सचेतसमेत गराउनुभयो ।

विसं २०३९ देखि बच्चै अवस्थामा रहँदा आफूले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझारी, आक्रोश, रिस नदेखिएको र उहाँ सदैव मुस्कुराइरहने, प्रशन्नचित व्यक्तिका धनी हुनुहुन्थ्यो ।’

स्वच्छ आचरण, कर्मठ क्रियाशील, अनुशासित र इमान्दार पार्टीको कार्यकर्ताका रुपमा रहेको रवीन्द्रको सम्बन्धमा नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले उहाँ देश र जनताप्रति समर्पित, चिन्तक, विश्लेषक र लेखन नेताका रुपमा पनि परिचित हुनुहुन्थ्यो ।

सुशासन र विकासको चरणमा मुलुक प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो –‘नकारात्मक सोच्ने, जुनसुकै कुराको विरोध गर्ने, सकारात्मक प्रयासलाई पनि दूषित बनाउने देखिएको तर, सकारात्मक सोचाइ राख्ने रवीन्द्र दृढ, स्पष्ट, गतिशील र कार्यप्रति समर्पित व्यक्तिका धनी हुनुहुन्थ्यो ।’

सरकारी कामको सिलसिलामा तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गरी फर्कने क्रममा दुखद् घटनाको स्मरण गर्दा प्रधानमन्त्री भावुक हुँदै भन्नुभयो – वषौंसम्म मन्त्री भएर गर्न नसकेको काम एक वर्षमै गरेका रवीन्द्रले आफ्ना पाइलको पद चिह्न छोडेको जो वषौंसम्म कायम रहनेछ’ । 

वाइडबडीको काण्ड रवीन्द्र मन्त्री बन्नुभन्दा पहिलेको घटना रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो –क्षुद्रमतिका मानिस र केही संस्थाले पोलेको, आफूले निर्दोषलाई निर्दोष भन्न नपाउने तर, क्षुद्रमतिले निर्दोषलाई दोषी भन्न पाउनेहरु प्रतिप्रश्न गर्नुभयो । 

उहाँले जिउँदैमा कसैको आँखामा आँशु ल्याएनन । तर निधनपछि सबैको आँखामा आँशु ल्याएकाले रवीन्द्रप्रति देश र पार्टीले गर्व गर्दछ, भन्नुभयो । मदन भण्डारीले दिनुभएको बहुदलीय जनवादको विचारले पार्टी अगाडि बढेर सफलता प्राप्त गरेको भन्नुहुँदै नेकपा पार्टीका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो–‘मदन भण्डारीले विपरीत अवस्थामा प्रतिकूलतालाई चिर्दै पार्टीलाई सङ्गठित र सक्षम बनाएकै कारण कारण आज दुई तिहाइको हाराहारीमा पार्टी पुगेको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नारालाई पूरा गर्न रवीन्द्रले देखेका यी लगायतका अधुरो सपनालाई पूरा गर्नका लागि प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिनुभयो । उहाँले रवीन्द्रको स्मृतिमा स्थापित प्रतिष्ठानलाई सफल र सक्षम बनाउन हामी सबैको दायित्व रहेको बताउनुभयो ।

रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं सो प्रतिष्ठानकी तदर्थ समितिका अध्यक्ष विद्या भट्टराईले यस्तो दुःखद् घडीको अवस्थाबाट गुज्रनुपर्ने विषयमा कहिले पनि नसोचेको उल्लेख गर्दै प्रतिष्ठानको माध्यमबाट रवीन्द्रको सपनालाई पूरा गर्न सदैव समर्पित भएर कार्य गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

रवीन्द्र अधिकारीको बाल्यकालदेखि राजनीतिक अवस्थाका साथै उहाँ हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका फागुन १५ गतेका दिन तेह्रथुम डाँडामा दिनुभएको अन्तिम भाषणबाट प्रधानमन्त्री ओलीदेखि मञ्चमा आसिनका साथै सभागृहमा उपस्थित जनसमुदाय वृत्तचित्र हेरेर भावुक भएका थिए भने कतिपयको आँखा रसाएका थिए ।

उपस्थिति        

सो प्रतिष्ठानको शुभारम्भको अवसरमा रवीन्द्र अधिकारीकी माता लक्ष्मी अधिकारी, पिता इन्द्रप्रसाद अधिकारी, प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यका साथै रवीन्द्रका भाइ, दिदी, दुई सुपुत्रलगायतका नातेदार, इष्टमित्रका साथै कानून तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, युवा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेकपाका नेता राजन भट्टराई, योगेश भट्टराईलगायत नेकपा पार्टीका नेता र विभिन्न सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति रहेको कुरा राससको समाचारमा उल्लेख छ ।