सहकारीले २० कर्मचरी माग्दा सोह्र सयको आवेदन !

सहकारीले २० कर्मचरी माग्दा सोह्र सयको आवेदन !

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १९, २०७६

झापा । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारी नियुक्तिका लागि एक हजार ६०० भन्दा बढीले आवेदन दिएको एनएमसी जानकारी दिएको छन् । 

मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त संख्याको आवेदन परेको हो । २०७६ साल जेठ १८ शनिवार कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगकै परीक्षाको झल्को दिने गरी लिखित परीक्षा सञ्चलन गरिएको छ ।  एनएमसीले सहायक अधिकृतस्तरका पाँच, वरिष्ठ सहायकस्तरका आठ र कार्यालय सहायकस्तरका सातजना कर्मचारीका लागि खुला आवेदन माग गरेको थियो । जसमा एक हजार ६०६ जनाले आवेदन दिएकोे र उनीहरु सबैलाई लिखित तथा मौखिक परीक्षामा सामेल गरेर २० जना छनोट गरिने कार्यक्रम रहेको संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिनुुभयो । 

शनिवारै मेचीनगर– १४ स्थित शहीद दशरथ मावि र त्रिदेव बहुमुखी क्याम्पसको २० वटा कोठामा ४० जना निरीक्षण खटाएर दुई चरणमा लिखित परीक्षा लिइएकोे छ । एनएमसीको जागिरप्रतिको आकर्षण र निष्पक्ष परीक्षाप्रतिको विश्वासका कारण आवेदकको संख्या धेरै भएको संस्थाका उपाध्यक्ष उप्रेतीको भनाइ थियो । 

परीक्षा सञ्चालनका लागि संस्थाले एनएमसी सेवा आयोग गठन नै गरेको छ भने परीक्षामा दर्जनौँं सुरक्षा गार्ड र नेपाल प्रहरीसमेत परिचालन गर्नु परेको थियो ।  बचत तथा ऋण कारोवार गर्ने एनएमसीले एउटा डेरी उद्योग, एकीकृत कृषि परियोजना र उपभोक्ता  भण्डारण समेत सञ्चालन गर्दै आएको छ । वि.स. २०५० मा स्थापित झापाको अग्रणी सहकारीका रुपमा चिनिएको यो संस्थामा हाल ६०० भन्दा बढी कर्मचारी, ३५ वटा सेवा केन्द्र, ७३५ करोड रुपैयाँको वार्षिक कारोवार, ६५ हजार भन्दा बढी सदस्य, ५६५ करोड रुपैयाँ निक्षेप र ६७ करोड रुपैयाँ शेयर पूँजी रहेको समेत जनाकारी राससको समाचारमा उल्लेख रहेको छ ।