दुग्ध विकास संस्थानका  कमिकमजोरी हटाउन  मन्त्री भुसालद्वारा निर्देशन

दुग्ध विकास संस्थानका  कमिकमजोरी हटाउन  मन्त्री भुसालद्वारा निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७९

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानको मंगलबार स्थलगत निरिक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा मन्त्री भुसालले दुग्ध विकास संस्थानले गरेका कामहरु प्रति चासो व्यक्त गर्नुभएको थियो ।

निरिक्षण पछि पदाधिकारी र कर्मचारीलाई निर्देशन दिदै मन्त्री भुसालले तत्काल संस्थानमा देखिएका कमिकमजोरी हटाउन निर्देशन दिनुभएको छ ।
उहाँले संस्थानलाई किसानको भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।

पछिल्लो समय संस्थान निरन्तर घाटामा गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री भुसालले किन यस्तो  भएको तत्काल जवाफ दिन निर्देशन दिनुभएको छ ।
‘प्राइभेट डेरीहरू नाफामा जाने, सरकारी संस्थान निरन्तर घाटामा जाने किन यस्तो भएको छ ? मन्त्री भुसालले प्रश्न गर्दै भन्नुभयो, ‘प्राइभेट डेरीसँग प्रतिस्पर्धा गर्ने गरी काम गर्नुस् ।’
संस्थान पछिल्लो समय निरन्तर घाटामा गएको तथ्याङ्क छ । पाँच बर्ष अगाडी नाफामा गएको संस्थान अहिले किन घाटामा गइरहेको छ, मन्त्री भुसालको गम्भीर चासो थियो । 
संस्थानलाई उहाँले तत्काल आर्थिक र प्राविधिक योजना पेश गर्न समेत निर्देशन दिनुभएको छ  । दुग्ध विकास संस्थान अपरिहार्य रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री भुसालले जोड थियो । साथै संस्थानले दुधका परिकारलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थान २ सय २० लिटर दुध लिन ३ सय ५० किलोमिटरको दुरीमा जाने गरेको समेत पाइएको छ । यो किन भइरहेको हो, यसको जवाफ दिन उहाँले निर्देशन दिनुभएको छ ।