प्रेम आचार्यको परिवारलाई इलाम समाज बेलायतको सहयोग रकम हस्तान्तरण

प्रेम आचार्यको परिवारलाई इलाम समाज बेलायतको सहयोग रकम हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २९, २०७९

काठमाडौँ ।  संसद भवन अगाडि, नयाँबानेश्वर, काठमाडौंमा सरकारको ध्यानाकर्षण गराउँदै आत्मदाह गरेर सहादत प्राप्त गरेका प्रेम आचार्यको परिवारलाई इलाम समाज बेलायतले पठाएको सन्तानब्बे हजार चालिस रुपैयाँ  सहयोग रकम आज २०७९ चैत २९ गते श्रीमती नानुका आचार्यलाई राधेश्याम लेकालीले हस्तान्तरण गर्नु भयो । 

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजित हस्तान्तरण कार्यक्रममा इलाम समाज बेलायतकी निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई अध्यक्ष रहनु भएको बेला संकलित सो रकम हस्तान्तरण गर्दै राधेश्याम लेकालीले दिवङ्गत आचार्यले उठाउनु भएका समस्याहरुलाई राज्यले यतिका दिन बितिसक्दा पनि कुनै सम्बोधन नगरेको बताउनु भयो । उहाँले सो अवसरमा आचार्यका छोरीहरुको काठमाडौंमै स्कुल भर्ना भएको तर श्रीमती बेरोजगार रहनु भएको पनि बताउनु भयो । 

सोही अवसरमा श्रीमती नानुका आचार्यले इलाम समाज बेलायतकी निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, आसन्न अध्यक्ष टेकवीर राई तथा इलाम समाज बेलायत परिवारलाई सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै अन्य सबै सहयोगी हातहरूलाई आभार प्रकट गर्नु भयो । 

यसैगरी आचार्यका नातेदार सागर लुइँटेलले संसारभरिका उन्नाइस हजारले सहयोग गर्नु भएको र सबै हिसाब निकट भविष्य मै सार्वजनिक गरिने पनि बताउनु भयो । 

कार्यक्रममा राष्ट्रिय आध्यात्मिक ज्योतिष विज्ञान प्रतिष्ठानका अध्यक्ष टेकराज शास्त्री, रिपब्लिकन फाउन्डेसन, नेपालका महासचिव प्रकाश सुवेदी, इलाम समाज काठमाडौंकि सदस्य मेनका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।