ढाकाकुमार श्रेष्ठको साधारण सदस्यबाट निष्कासनको कारबाहीले रवितिर सोझिएको गम्भीर प्रश्न

लोकसंवाद टिप्पणी

ढाकाकुमार श्रेष्ठको  साधारण सदस्यबाट निष्कासनको  कारबाहीले रवितिर सोझिएको गम्भीर प्रश्न

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठ पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् । रास्वपा भ्रष्टाचार, पुराना राजनीतिक दलप्रतिको बितृष्णालाई हतियार बनाएर राष्ट्रिय राजनीतिमा उदाएको शक्ति हो । तर एमाले नेता गोकुल बास्कोटाको ७० करोड बार्गेनिङ काण्डको झल्को दिनेगरी श्रेष्ठको अडियो बाहिर आएको छ ।

उनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग आफू स्वास्थ्यमन्त्री बन्ने चर्चा रहेको र मन्त्री बन्न २ करोड चाहिने भन्दै पैसा मागेको देखिन्छ । पुस १० मा बनेको एमालेसहितको गठबन्धन सरकारमा रास्वपा सहभागी भएको थियो । जसमा म्यानपावर व्यवसायीलाई श्रममन्त्री र शैक्षिक क्षेत्रमा व्यापारिक काममा समेत संलग्न शिशिर खनाललाई शिक्षामन्त्री बनाएकोमा रास्वपाको विरोध भएको थियो ।

भागबण्डामा रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने चर्चा पनि थियो । तर त्यो पदमा ललितपुर–३ बाट निर्वाचित भएकी र बहालवाला मन्त्री पम्फा भुसाललाई हराएकी डा.तोसिमा कार्की मन्त्री हुने धेरैको अनुमान थियो । तर कार्की स्वास्थ्य राज्यमन्त्री मात्रै भइन्, स्वास्थ्यमन्त्री एमालेले पायो । मन्त्रीका लागि त्यसबेला चर्चामै नरहेको ढाका कुमार श्रेष्ठले दुर्गा प्रसाईसँग मन्त्री बन्न साढे २ करोड मागेको विवादमा मुछिएका छन् र पद गुमाएका छन् ।

उनले बैठकमा अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको बताएका थिए । तर उनले नै अडियो प्रकरण आफूलाई फसाए नाम लिने धम्की समेत दिएका छन् । श्रेष्ठले आफूमाथिको कारबाहीमा पनि प्रक्रियागत गल्ती भएको दाबी गरेका छन् । उनले आफू तत्कालै कुनै प्रतिक्रिया नदिने बताए । तर उनले एउटा गम्भीर प्रश्न उठाएका छन्– अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिं गर्नुपर्छ कि पर्दैन ?

श्रेष्ठ सांसद पद गुमाउने रास्वपाका २ मध्ये पछिल्लो सांसद हुन् । यसअघि सभापति रवि लामिछानेले नै नेपाली नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया सुरु नगरेको भन्दै सांसदका लागि उम्मेदवार बन्नै अयोग्य भएको फैसला सर्वोच्च अदालतले गरेपछि सांसद पद गुमाएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले बर्खास्त गरेका ढाका कुमार श्रेष्ठले बुधबार पत्रकारसँग कुराकानी गरे । उनले पत्रकार सम्मेलनकै क्रममा दुईथरी कुरा गरे । पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकार माझ प्रस्तुत भएका उनले सुरुमा आफ्नो अडियो नक्कली भएको र इडिट (सम्पादन) गरेर आफ्नो बदनाम गरेको भन्दै अदालतमा गएर भए पनि न्याय पाउने दाबी गरे । तर केही समयपछि नै उनी चिप्लिन पुगे । उनले जनवरी/फेब्रुअरीको अडियो कुराकानी अहिले ल्याएर सार्वजनिक गरिएको बताए । 

उनले भने, ‘यो अडियो जसले जहाँ पनि र जसरी पनि बनाउन सकिन्छ । इडिटिङ गर्न सकिन्छ । मेरो भ्वाइस फेरि अर्को तरिकाले मोडेर पनि, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ । यो अडियो खास 'अथेन्टिक'  होइन । ह्वाट्स एपमा कुरा गरेको भनिएको छ । मेरा कुराहरु कहाँ कहाँबाट जोडिएर अहिले यसरी मिडियामा आएको छ । यो प्रति म खेद प्रकट गर्न चाहन्छु ।’

बोल्दै जाँदा उनी त्यही कुरामा चुके । उनले भने, ‘यो फसाइएको हो । सुनियोजित हो । जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो ।’ 

श्रेष्ठलाई निष्काशन गरेको घोषणा गर्न आयोजित पत्रकार भेटघाटमा सभापति रवि लामिछानेले अडियो पुष्टि हुने आधार रहेको बताए । रास्वपाले श्रेष्ठले व्यवसायी प्रसाईसँग पैसाका लागि फोन गरेको पुष्टि हुने निष्कर्ष निकालेको हो । सोही निष्कर्षका आधारमा ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन समेत गरेको छ । सो ठाउँमा रास्वपाले विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको जानकारी दिए । 

श्रेष्ठले लामिछानेसँगको कुराकानीमा उनले आफैमा बाझिने कुरा गरेको बताए । श्रेष्ठले सो अडियो आफ्नो नभएको पनि बारम्बार दोहोर्‍याएका थिए भने आफू डुबे अरुलाई पनि डुबाउने धम्कीसमेत दिएका थिए । 

उनले बैठकमा अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको बताएका थिए । तर उनले नै अडियो प्रकरण आफूलाई फसाए नाम लिने धम्की समेत दिएका छन् । श्रेष्ठले आफूमाथिको कारबाहीमा पनि प्रक्रियागत गल्ती भएको दाबी गरेका छन् । उनले आफू तत्कालै कुनै प्रतिक्रिया नदिने बताए । तर उनले एउटा गम्भीर प्रश्न उठाएका छन्– अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिं गर्नुपर्छ कि पर्दैन ? त्यसको अर्थ उनले रास्वपाको कोर टिमबारे खोजी गरेका छन् ।

यसको अर्थ अब रास्वपाभित्र कोर टिमको बहस पनि तीव्र बनेको छ । सभापति लामिछानेलाई समेत थाहा हुने गरी कोर टिमको कुरा बाहिर आएपछि उनी आफैंले केही प्रश्नको जवाफ दिनुपर्छ । यदि सभापति रवि लामिछाने कोर टिममा नभएको भए त्यहाँ को छ त ? उनी नै पार्टीका प्रमुख भएकाले उनीबाहेक मन्त्री बनाउन पैसा लिने वा माग्ने को हो भन्ने पत्ता लगाउनुपर्नेछ । कि लामिछानेको हातमा नभएर उनीभन्दा माथि मन्त्री बेच्ने हैसियत व्यक्ति को हुन्  ? भन्ने प्रमाणित हुनुपर्छ । रविको पार्टीमा उनीभन्दा माथि को छ भन्ने प्रश्न पनि अब उनी तिरै तेर्सिएको छ ।