फिक्कललाई सन्दकपुर गोल्डकपको उपाधि

फिक्कललाई सन्दकपुर गोल्डकपको उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २, २०८०

तेस्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका- ३ स्थित सातखाल्डे खेल मैदानमा भएको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो ।

खेलमा सुरुआती अग्रता फिक्कलले लिएको थियो । १२औँ मिनेटमा नयन प्रधानले सुरुआती गोल गरेका थिए । २३औँ मिनेटमा शौरभ कार्कीले हेडरमार्फत अग्रता दोब्बर बनाए ।

खेलको ५२औँ मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टीमार्फत अग्रता कम पारे । ५८औँ मिनेटमा शेखर राईले खेल ३-१ बनाए ।

६६औँ मिनेटमा रोमनले पेनाल्टीमार्फत गोल थपे पनि उपाधि जित्न पर्याप्त भएन ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित भए । उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बू घोषित भए । उनीहरूले जनही ४ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उदीयमान खेलाडी देउराली स्पोर्टिङ क्लबका निशान राई घोषित भए । देउराली स्पोर्टिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ वटा टोलीको सहभागिता थियो ।

अइन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगितामा इलाम क्षेत्र नं.- १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता थियो ।

प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेलीलगायतले पुरस्कार वितरण गरे । २४ चैतदेखि प्रतियोगिता सुरु भएको थियो ।