बालकोटमा बैठक बोलाए, गएनन् प्रधानमन्त्री

बालकोटमा बैठक बोलाए, गएनन् प्रधानमन्त्री

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आह्वान गरेको शीर्ष ३ दलको बैठकमा आफैँ अनुपस्थित भएका छन् । बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन् ।

प्रधानमन्त्री आफैँले बालकोटमा ९ बजेका लागि बैठक बस्ने तय गरेका थिए ।

टीआरसी विधेयक, संयुक्त समिति निर्माणका विषयमा छलफल गरेर जाने तयारी थियो । अहिलेसम्म संघीय संसदको संयुक्त समिति नै बन्न सकेको छैन । सुनुवाइ समिति, प्रधानन्यायाधीश नियुक्ति पनि संसदीय समिति नभएकै कारणले रोकिएको छ । त्यसबारे छलफल गर्न प्रधानमन्त्री स्वयंले बालकोटामा बैठक बोलाएका एमालेका एक नेताले बताए ।

९ बजेका लागि बैठकका लागि एमालेको तर्फबाट प्रतिनिधि र सभामुख देवराज घिमिरे पनि बालकोट पुगिसकेपछि ९ः२० बजेतिर प्रधानमन्त्रीले बैठकमा आउन नसक्ने जबाफ पठाएको बालकोट स्रोतले जानकारी दिएको छ ।

संसदका झण्डै २ दर्जन बैठक बस्दा पनि अहिलेसम्म विषयगत समिति बनाउन नसकेकोप्रति एमालेले आपत्ति जनाएको छ ।

संवैधानिक नियुक्तिलाई पनि अगाडि बढाउन आवश्यक भए पनि सरकारले चासो नदिएको एमालेको आरोप छ ।