हिनामिना भएका सहकारीको २६ करोड फिर्ता गर्ने प्रतिबद्धता

हिनामिना भएका सहकारीको २६ करोड फिर्ता गर्ने प्रतिबद्धता

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १९, २०७६

बाँके । सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिले अपचलन भएको सम्पूर्ण रकम असुली गरी सदस्य तथा निक्षेपकर्तालाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको सरोकारवालाबिचको छलफल कार्यक्रममा सञ्चालक समितिले सम्पूर्ण रकम फिर्ताको प्रतिबद्धता जनाएको हो ।

‘सहकारीको कार्यालय सञ्चालनमा ल्याएर रकम भुक्तानीका लागि पहल सुरु गर्छु’ संस्थाका अध्यक्ष हरदेवबक्स चौधरीले भन्नुभयो,–‘वर्षौँदेखि कर्मचारीले गर्दै आएको बदमासी पत्ता लगाएर मैले नै अनुसन्धान गरेको हुँ ।’ उहाँले आफूले कसैको पनि रकम मर्न नदिने प्रतिबद्ध रहेकाले कार्यालय सञ्चालनमा ल्याइ रकम भुक्तानी दिन सुरु गर्ने  प्रतिबद्धता जनाउनु भएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार सञ्चालक समिति, फरार कर्मचारीका आफन्त र प्रतिनिधिमूलक सेवाग्राहीहरुको संयुक्त छलफल गराई रकम भुक्तानीको सुनिश्चितता खोजिएको थियो । पौडेलका अनुसार–एक वर्षभित्र सम्पूर्ण रकम फिर्ता गर्ने कुराको सुनिश्चितता सञ्चालकहरूबाट प्रतिबद्धता आएको छ’, उहाँले भन्नुभयो । पौडेलले जनताको रकम डुब्न नदिने कुराको सुनिश्चितताका लागि प्रहरी प्रशासनले पहल गरिरहेको जानकारी दिनुभयो । 

सहकारीमा झन्डै रु २६ करोड रकम अपचलन भएको भन्दै निक्षेपकर्ताहरु रकम फिर्ता माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । संस्थाका नायव महाप्रबन्धक गङ्गा धर सुवेदी, प्रबन्धक अरुण कुमार पाठक, कर्जा विभाग प्रमुख लिलाधर ओली र खजुरा शाखा प्रमुख सुरजकुमार विकको मिलेमतोमा उक्त रकम अपचलन गरिएको आरोप छ । फरार उनीहरूमध्ये खजुरा शाखा प्रमुख विकले आफै प्रहरी कार्यालयमा उपस्थित भएर अपचलन गरेको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि त्यसको सुनिश्चितताका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य फरार कर्मचारीहरूको खोजी गरिरहेको प्रहरी सामु परिवारका सदस्यहरूले प्रतिबद्धता जनाएको बताइएको छ ।