तनहुँमा पनि भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

तनहुँमा पनि  भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०८०

यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तकमध्ये अधिकांश पुस्तक आइपुगेको इकाइको भनाइ छ । 

भर्ना अभियान सुरु हुनुपूर्व नै जिल्लाका पुस्तक व्यवसायीले पाठ्यपुस्तक ल्याएको समन्वय इकाई प्रमुख वसन्तराज पौडेलले जानकारी दिनुभयो । “पुस्तक व्यवसायीलाई छिटोभन्दा छिटो पुस्तक सम्बन्धित विद्यालयमा वितरणका लागि भनिसकेका छौँ, विद्यालयलाई पनि विद्यार्थीको हातमा जतिसक्दो छिटो पुस्तक वितरण होस् भनेर निर्देशन दिइसकेका छौ,” पौडेलले भन्नुभयो । 

पौडेलका अनुसार कक्षा ५ देखि ८ र १० को अङ्ग्रेजी माध्यममा बाहेक सबै पुस्तक जिल्ला आइसकेको छ । ' यसका लागि आवश्यक पाठ्यपुस्तकको सङ्ख्या सङ्कलन भइसकेको छ र यो महिनाको अन्तिमसम्म अङ्ग्रेजी माध्यमका र संस्कृतका पुस्तक पनि आइ पुग्छन,' उहाँले भन्नुभयो । 

पाठ्यपुस्तक खरिद गरी विद्यार्थीमा वितरणका लागि विद्यालयमा ७५ प्रतिशत बजेट निकासा गरिसकिएको छ । “विद्यालयले भर्ना गर्दै पुस्तक वितरणको व्यवस्था मिलाएका छन्, कतिपय विद्यालयले अभिभावकलाई पुस्तक किन्नका लागि सूची दिने र अभिभावकले पुस्तक खरिद गरेर बिल ल्याएपछि विद्यालयले रकम उपलब्ध गराउने गरेका पनि छन्,” पौडेलले भन्नुभयो । तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।

पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय सदस्य तारा राम श्रेष्ठका अनुसार ७० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक जिल्लामा आइसकेको छ । तनहुँमा ६५ पुस्तक व्यवसायी मार्फत् पुस्तक विक्री वितरण हुँदै आएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी कम्पनीले छपाई गरेका कारण सबै पाठ्यपुस्तक आइसकेको उहाँले जानकारी दिनुभयो । जनक शिक्षा सामग्री मार्फत् कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक ३० प्रतिशत पुस्तक आउन बाँकी छ । 

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक वितरण गरिरहेको छ । विद्यालयले चैत २८ गतेदखि भर्ना अभियान सुरु गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा ६ र ७ को कम्प्युटरको पाठ्यपुस्तक आउन बाँकी छ । त्यस्तै कक्षा ९ र १० को ऐच्छिक विषय तर्फको २० जना विद्यार्थी रहेकामा आठ पुस्तक आउन बाँकी छ । 

'भर्ना हुने विद्यार्थीलाई तत्कालै पाठ्यपुस्तक दिइरहेका छौँ, आउन बाँकी पुस्तक पनि दुई/ चार दिनभित्र आउने खबर पाएका छौ, आउनेबित्तिकै विद्यार्थीलाई उपलब्ध गराउँछौ,' गुरुङले भन्नुभयो ।