प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन शीर्ष ३ दलका नेताहरू सहमत

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन शीर्ष ३ दलका नेताहरू सहमत

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ४, २०८०

काठमाडौँ । प्रमुख ३ राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ३ दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए । 

उनले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट संचालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताए । 

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएको बताए ।

आजको बैठकमा संसदीय  समिति संचालन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने कुरामा पनि छलफल भएको थियो ।