महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग

महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ५, २०८०

काठमाडौँ । स्वदेशमा रोजगारीको सुनिश्चितता सहित महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग गरिएको छ । राष्ट्रवादी केन्द्र नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी मुलुककै स्रोत र साधन प्रयोग गरी रोजगारी सिर्जना गरी देशलाई आर्थिकरूपमा सम्पन्न बनाउनुपर्ने माग गरेको हो । 

सो संस्थाले ऋणीहरूलाई सहज बनाएर व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, यातायात क्षेत्रमा भएका विकृति तथा विसङ्गति अन्त्य गर्नुपर्ने र आम जनताको आधारभूत आवश्यकता पूरा गर्न पनि सरकारलाई आग्रह गरेको छ । राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले पटकपटक उद्योगी व्यवसायी र आमजनताका समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो । 

सार्वजनिक यातायात व्यवसायी महासङ्घका संरक्षक होमप्रसाद अधिकारी र राष्ट्रवादी केन्द्र नेपालका सचिवालय सदस्य भुवन सङ्गमले राष्ट्रियताको सवालमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ट्रक व्यवसायी महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँ र राष्ट्रवादी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष हिमलाल पौडेल राजनीतिमा युवा पुस्तालाई अवसर दिनुपर्ने धारणा राख्नुभयो ।