सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि २४ गतेसम्म

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि २४ गतेसम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ५, २०८०

चितवन । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले चितवनमा सातौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

    चितवन उद्योग सङ्घको आयोजना तथा नेपाल उद्योग परिसङ्घको प्रवद्र्धनमा आगामी वैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको हो । नेपाल उद्योग परिसङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा उद्योगी, व्यवसायीको मनोबल उच्च बनाउनका लागि औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रको कठिन परिस्थितिमा चितवनमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने बताउनुभयो । सम्मेलनमा चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले प्रदर्शनी नेपाली उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र नयाँ उद्यमी जन्माउन सहयोग पुग्ने बताउनुभयो  । 

उहाँले प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगलाई सहज र किफायती बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष कँडेलले यस प्रदर्शनी नेपालको औद्योगिक विकासमा सहयोग पुर्‍याउन कोशेढुङ्गा सावित हुने बताउनुभयो । प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इञ्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन र सेवाका सामग्री राखिने आयोजकले जनाएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा दुई सय स्टल राखिने अध्यक्ष कँडेलले बताउनुभयो । प्रदर्शनीको अवलोकन गर्नका लागि पैसा नलाग्ने आयोजकले जनाएको छ । उक्त औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रवद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्र्रिया आयोजना हुनेछ ।