तनहुँकाे नगरपालिका भित्र पहिलोपटक बस पुग्दा अविर जात्रा !

तनहुँकाे नगरपालिका भित्र पहिलोपटक बस पुग्दा अविर जात्रा !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ५, २०८०

तनहुँ ।  व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटर मार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । 

 विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटर मार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविर जात्रासहित स्वागत गरेका हुन् । यस मार्गमा सवारी साधन सञ्चालन नहुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका–६ स्थित बागेश्वरी आमा समूहकी अध्यक्ष विन्दु वाग्लेले बताउनुभयो ।

    'यस मोटर मार्गमा सवारी साधन नचल्दा हामीलाई बिरामी लिएर अस्पताल जान पनि समस्या थियो' , वाग्लेले भन्नुभयो, ' अब नियमित बस चल्ने भएपछि खुसियालीमा अविर जात्रासहित स्वागत गरेका हौँ ।'  चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अविर जात्रासहित स्वागत गरेका थिए । यस मोटर मार्गमा पहिलो पटक बस सञ्चालन गरिएपछि स्थानीयले आफूलाई अविर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताउनुभयो । 

    आफूहरुले करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो । ' यस मार्गमा नियमित सवारी साधन नहुँदा प्रशासनिक कामले दमौली जानुपर्दा घण्टौँ हिँड्नुपर्ने अवस्था थियो' ,  खड्काले भन्नुभयो, ' अब भने दैनिक बस सञ्चालन हुने भएपछि भने स्थानीयलाई निकै राहत हुने भयो ।'  

घाँसीकुवादेखि भानु नगरपालिका–६ पड्के पसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटर मार्ग पर्दछ । तर थप नौ किलोमिटर पक्की सडकखण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटर मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो । 

    चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नुपर्नेमा यस मार्गबाट २३ किलोमिटर मै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको र भाडा दर न्यूनतम तोकिएको उक्त मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले बताउनुभयो । स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नति गरिएपछि बस सञ्चालनमा सहज भएको उहाँले बताउनुभयो ।

    ' यस मार्गमा वर्ष भरी नै सवारीसाधन सञ्चालन गर्ने गरी व्यवस्था गरेका छौँ' , अध्यक्ष भट्टराईले भन्नुभयो, ' बस सञ्चालन गरिएपछि स्थानीयलाई निकै ठूलो राहत भएको छ ।'  उक्त मार्गमा दैनिक बस बिहान चन्द्रावतीबाट छुट्ने र मध्याह्न ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।