युवा संघद्वारा विद्युतीय शव दाह गृहमा रहेका मेसिनहरू पूर्ण रुपमा सञ्चालन गर्न माग

युवा संघद्वारा विद्युतीय शव दाह गृहमा रहेका मेसिनहरू पूर्ण रुपमा सञ्चालन गर्न माग

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०८०

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी_ निकटको युवा संघले पशुपति क्षेत्रभित्र रहेका विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु पूर्णरुपमा संचालन गर्न माग गरेको छ । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापालाई संघले आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । संघले उक्त विद्युतिय शव दाह गृहमा रहेका सम्पूर्ण मेसिनहरु अविलम्ब मर्मत गरि संचालन गर्न कोषको गम्भिर ध्यानाकर्षण गराएको छ । 

‘पशुपति क्षेत्र विकास कोषको मातहतमा रहने गरि पशुपति क्षेत्र भित्र रहेको विद्युतिय शव दाह गृह संचालनमा रहेकोमा विद्युतिय शव दाह गृहमा रहेका मेसिनहरु करिब ३१ महिना भन्दा लामो समय देखि पूर्णरुपमा संचालन हुन सकेका छैनन । विद्युतिय मेसिनबाट अन्तिम मृत्यु संस्कार गर्न चाहने मृतकका परिवारहरूलाई विद्युतिय शव दाह मेसिनबाट मृत्यु संस्कार गर्न समस्या परिरहेको छ’ संघले बुझाएको ज्ञापनपत्र उल्लेख गरिएको छ । 

श्री पशुपतिनाथको आदर्श गरिमा एवं महत्व अनुरुप पशुपति क्षेत्रको योजनाबद्ध रुपमा सुरक्षा, सम्भार तथा विकास गर्ने लगाएतका उद्देश्य कार्यान्वयन गर्नको लागि पशुपति क्षेत्र विकास कोषको गठन भएको हो । 

संघका वागमती प्रदेश कमिटीका अध्यक्ष फुर्वा लामाको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा संघका केन्द्रीय कमिटी उपाध्यक्ष नितेश पौडेल, इन्चार्ज रोशन थापा लगायतको विशेष सहभागिता रहेको थियो । 

युवा संघ नेपालले आफनो स्थापनाकाल देखिनै राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कानूनी शासन लगाएतका विषयमा निरन्तर सरोकार राख्दै आइरहेको छ ।