नवलपुरको वनमा ५३ स्थानमा डढेलो !

नवलपुरको वनमा  ५३ स्थानमा डढेलो !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०८०

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ । फागुन यता ती स्थानमा डढेलो लागेको हो । 

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ । डढेलो लागेको क्षेत्र बढ्न सक्ने उहाँले बताउनुभयो । 'फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ', उहाँले भन्नुभयो । धेरैजसो क्षेत्रमा आगो नियन्त्रणमा आएको गौतम बताउनुहुन्छ । 'अहिले थप केही क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको छ' , उहाँले भन्नुभयो ।

डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ । सामुदायिक वनले हेरालु राख्ने गरेका छन् । उनीहरुले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन् । आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने लगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइएको गौतमले बताउनुभयो । 

' पहिला–पहिला खोरिया फाड्न वनमा आगो लगाउने चलन थियो, हाल यस्तो गरेको पाइँदैन' , उहाँले भन्नुभयो । डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउने लगायत स्थिति रहेको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत  छविलाल सुवेदीले बताउनुभयो । चश्मा प्रयोग गर्ने, बेला–बेलामा चिसो पानीले आँखा धुने, मास्क लगाउने जस्ता उपाय अपनाउन उहाँले सबैमा आग्रह गर्नुभयो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर वन रहेको छ ।