यमबहादुर दुराको ‘दुरा इतिहास र संस्कृति’ नामक खोज मूलक पुस्तक बजारमा

यमबहादुर दुराको ‘दुरा इतिहास र संस्कृति’ नामक खोज मूलक पुस्तक बजारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०८०

काठमाडौँ । नेपालका अल्पसंख्यक आदिवासी जनजाति मानिने दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर ‘दुरा इतिहास र संस्कृति’ नामक खोज मूलक पुस्तक प्रकाशन भएको छ ।

पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसंख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन् । यसैगरी, दुरा समुदायमा प्रचलित विश्वास प्रणाली, खाद्य संस्कृति, चाडबाड, परम्परागत ओखती मूलो तथा उपचार पद्धति, दुरा समुदायको पहिचानसँग जोडिएका स्थानमा, लोक जीवनका विभिन्न रोचक आयाम एवम् अमूर्त सांस्कृतिक सम्पदा आदिबारे विस्तृत चर्चा गरिएको छ । 

हालका दिनमा लगभग पाँच हजार जनसंख्या भएको अल्पसंख्यक दुरा समुदायको इतिहास र संस्कृतिबारे यो पुस्तक हालसम्मकै विस्तृत र सघन मानिएको छ । प्राध्यापन तथा शोध कार्यमा संलग्न यमबहादुर दुराले लेखेको पुस्तक भूतपूर्व गोर्खा सैनिक इन्द्रबहादुर दुराले प्रकाशन गर्नुभएको हो ।