एक दलित परिवारलाई हप्तामा एक गाग्री पानी

एक दलित परिवारलाई हप्तामा एक गाग्री पानी

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १९, २०७६

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।  

 सुख्खा मौसम र गर्मीबढेसँगै खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले जानकारी दिनु भएको छ ।  
पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ । दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्र रहेको छ । वर्षात्को पानी सङ्कलनका लागि सबैका घरमा घैँटाको व्यावस्था गरिएको छ ।  तर, यसपालिका घैँटाका पानी माघ÷फागुनमा सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन् ।

यो वर्ष प्रशस्त वर्षात्  हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा भर दिनखर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ । रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीय बासिन्दा गोपाल परियारका अनुसार  पानी समस्या बढेपछि  दिनरात नै पानीको मुहानमा बिताउनु परेको छ ।

हप्तामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय बासिन्दा तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य हुन् परिरहेको छ । बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पँधेरीहरु ८ बजेतिरमात्र घरमा पाइला टेक्ने गर्छन् । 

‘पानीका मुहान रहेका क्षेत्रहरु पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ । भुवनपोखरीको कमेरे, मेहालपानी, सिमलडाँडा, खानतुङलगायतका स्थानबाट पानी ल्याउनुपर्छ’, परियारको भनाइ छ ।  
पानीका कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । डाँडामा बस्ती रहेकाले पानीको समस्या वषौंदेखि रहे पनि यहाँको खानेपानीको समाधानमा कसैको चासो नपुग्दा समस्या हटेको छैन ।

 यो बस्तीलाई लक्षित गरी आरखोला, रैनादेवी, दलित बस्ती खानेपानी आयोजनाको काम सञ्चालनको अवस्थामो छ । आयोजनाको काम निकै सुस्तगतिमा हुँदा उपभोक्ताले खानेपानीका लागि हैरानी भोग्न बाध्यभएको कुरा राससको समाचारमा उल्लेख छ ।