उपनिर्वाचनको मौन अवधि: प्रचारप्रसार गर्न र फेसबुक, भाइबर जस्ता माध्यमबाट मत माग्न रोक

उपनिर्वाचनको मौन अवधि: प्रचारप्रसार गर्न र फेसबुक, भाइबर जस्ता माध्यमबाट मत माग्न रोक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०८०

उपनिर्वाचनको मौन अवधि ः के गर्न पाइदैन ? 
उपनिर्वाचनको मौन अवधि सुरु हुनुअघि प्रचारप्रसारको अन्तिम दिन उम्मेदवारी दिएका प्रमुख दल तथा गठबन्धनले मतदातालाई आफूतिर तान्ने अन्तिम प्रयास गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवन तथा एमाले र सत्ता गठबन्धनले बारामा अलग अलग स्थानमा चुनावी सभाको आयोजना गरे । आगामी आइतबार बारा, चितवन र तनहुँका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन हुनुभन्दा ७२ घन्टा अघि देखि सुरु हुने मौन अवधि गएराति १२ बजेबाट सुरु भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ–१, नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि चितवन–२ र जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।
यी तीनवटै क्षेत्रमा एमाले, सत्ता गठबन्धन र रास्वपाबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 

बारा–२ मा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन् । गत ४ मंसिरमा भएको निर्वाचनमा उनी सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । यादवसँग एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह र रास्वपाबाट रमेश खरेल प्रतिस्पर्धामा छन् । अघिल्लो पटक रामसहायप्रसाद यादव विजयी भएको यो क्षेत्रमा माओवादीबाट कुशवाह झिनो मतान्तरले पराजित भएका थिए । 

यता चितवन–२ मा नागरिकताका कारण सांसद पद गुमाएका रवि लामिछाने मैदानमा छन् । यहाँ उनले करिब ४९ हजार मत पाउँदा कांग्रेस र एमालेका उम्मेदवार १४ हजार हाराहारीमा मत पाएर दोस्रो र तेस्रो भएका थिए । निर्वाचन प्रचारको अन्तिम दिन बिहीबार एमाले र सत्ता गठबन्धनले बारामा तथा रास्वपाले चितवनमा चुनावी सभा आयोजना गरे । 

राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ पनि प्रतिष्ठाको लडाई बनेको छ । तनहुँमा कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले, काँग्रेसबाट गोविन्द भट्टराई र एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उम्मेदवार बनेका छन् । 

बिहीबार मध्य रातीबाट निर्वाचन प्रचारप्रसारमा रोक लागेको छ । अब दल वा उम्मेदवारले मत प्रभावित पार्ने गरी कुनै प्रचार गर्न पाउनेछैनन् । दलहरुले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न रोक लगाइएको छ ।

नयाँ दल रास्वपाको कठिन चुनौतीको सामना गर्नुपर्ने अनुमानसहित तीनवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र एमालेका शीर्ष नेताहरु नै चुनावी प्रचारमा खटिए ।

उपनिर्वाचनको अन्तिम चुनावी सभाहरूमा पनि शीर्ष नेताहरु सहभागी भए । बिहीबार बारामा भएको चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माधवकुमार नेपालले सम्बोधन गरे । केही दिनअघि तनहुँमा पुगेर देउवा र प्रचण्डले मन्त्रीका आश्वासनसहित मत मागेका थिए । निर्वाचन आचारसंहिताको समेत धज्जी उठाउँदै ठूलो दलबलसहित गएर मन्त्री आश्वासन दिँदै मत मागेकोमा उनीहरुको कडा विरोध भयो । बारामा पनि उनीहरूले विभिन्न आश्वासनसहित गठबन्धनका उम्मेदवारलाई मत मागे । 

बारामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गरे । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डसहित देउवा र नेपालले बिहीबारै चितवनको सभालाई सम्बोधन गरे । रास्वपाले चितवनमा आयोजना गरेको आफ्नो अन्तिम चुनावी सभालाई सभापति रवि लामिछानेसहित तनहुँका उम्मेदवार स्वर्णिम वाग्ले र बाराका उम्मेदवार रमेश खरेलले सम्बोधन गरे । 

बिहीबार मध्य रातीबाट निर्वाचन प्रचारप्रसारमा रोक लागेको छ । अब दल वा उम्मेदवारले मत प्रभावित पार्ने गरी कुनै प्रचार गर्न पाउनेछैनन् । दलहरुले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न रोक लगाइएको छ ।

साथै निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वा नुमानका सामग्री प्रकाशन गर्न समेत नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ । 

उपनिर्वाचनको प्रचारका क्रममा कुनै पनि दल वा उम्मेदवारको चित्र तथा चिह्न अंकित टिसर्ट, टोपीलगायतका सामग्री वितरणमा पनि रोक लगाइएको थियो । निर्वाचनको मौन अवधि मतदाताले मतको निर्णय गर्ने अवधि हो । तर विगतमा मौन अवधिमा समेत मत प्रभावित पार्न उम्मेदवारहरुले गतिविधि गरेका प्रशस्तै उदाहरण छन् । त्यसैले मौन अवधि निर्वाचनका लागि संवेदनशील अवधि पनि हो ।