विश्वकप क्रिकेट : न्युजिल्याण्ड र अस्ट्रेलियाको विजयी सुरुवात

विश्वकप क्रिकेट : न्युजिल्याण्ड र अस्ट्रेलियाको विजयी सुरुवात
रिभर्स स्विप प्रहार गर्दै अस्ट्रेलियाका डेभिट वार्नर । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १९, २०७६

काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्याण्ड र अस्ट्रेलियाले विजयी सुरुवात गरेका छन् ।

शनिबार सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो ।

न्युजिल्याण्डले १३७ रनको लक्ष्य १६.१ ओभरमै विकेट नगुमाएरै पूरा गर्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मार्टिन गुप्टिलले ७३ र कोलिन मुनरोले ५८ रनको योगदान दिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको श्रीलंकाले २९.२ ओभरमै १३६ रनमा अलआउट भएको थियो । टिमका लागि कप्तान डिमुथ करुणारत्नेले मात्रै अभिजित ५२ रनको योगदान दिए । कुशल परेराले २९ र थिसारा परेराले २७ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । तीन ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

न्युजिल्याण्डका म्याट ह्यारी र लोगी फरगुसनले समान तीन विकेट लिए ।

खेलको प्लेअर अफ दि म्याच ह्यारी घोषित भए ।

दोस्रो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।

अस्ट्रेलियाले २०८ रनको लक्ष्य ३४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान डेभिट वार्नरले अभिजित रहँदै ८९ रन जोडे । यस्तै, कप्तान आरोन फिन्चले ६६ रनको योगदान दिए । स्मिथ स्मिथले १८ रन जोड्दा उस्मान ख्वाजाले १५ रन बनाए ।

अफगानिस्तानका तर्फबाट मुजिब उर रहनान, गुल्बादिन नैब र रासिद खानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३८.२ ओभरमा २०७ रनमा अलआउट भएको थियो । टिमका लागि नाजिबुल्लाह जड्रानले सर्वाधिक ५१ रनको पारी खेले । यस्तै, रहमत साहले ४३ र गुल्बादिन नैवले ३१ रनको योगदान दिए ।

अस्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान तीन विकेट लिए । यस्तै मार्कस स्टोनिसले दुई विकेट लिँदा मिचेल स्टार्सले एक विकेट चट्काए ।

खेलको प्लेअर अफ दि म्याच डेबिट वार्नर घोषित भए ।