गठबन्धन फेरबदलको परकम्प : गण्डकीमा सरकार ढल्यो, अब कसको र कस्तो ?

गठबन्धन फेरबदलको परकम्प : गण्डकीमा सरकार ढल्यो,  अब कसको र कस्तो ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०८०

गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा राखेको विश्वासको मत पाउँ भन्ने प्रस्तावको पक्षमा बहुमत नपुगेपछि उनी स्वतः पदमुक्त भएका छन् । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्यमध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ जनाले मत दिएका थिए भने विपक्षमा ३५ मत परेको थियो । 

गत पुस २५ गते माओवादीको समर्थन पाएपछि एमालेको नेतृत्वमा गण्डकी प्रदेश सरकार बनेको थियो । शनिबार विश्वासको मत नपाएपछि अधिकारी नेतृत्वको सरकार १०५ दिनमा ढलेको छ । विश्वासको मत ६० सदस्यीय प्रदेशसभामा कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्ने थियो । अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत मात्र पाए । अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) ले अधिकारीको विपक्षमा मत दिएका थिए । 

उनले धारा १६८ को उपधारा २ अनुसार हुन्छ वा ३ अनुसार भन्ने बारेमा भने केही बताएनन् । यद्यपि प्रदेश प्रमुखले संविधान पढेर जुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्छन्, सोही उपधारा अनुसार सरकार बन्ने बताए । नेकपा माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीमा संविधानको धारा १६८ (२) अनुसारकै सरकार बन्ने दाबी गरे । 

सत्तापक्षमा रहेको माओवादी केन्द्रले १० चैतमा अधिकारीलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुसार शनिबार विश्वासको मत लिएका हुन् । तर उनले विश्वासको मत पाउन नसकेपछि अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

१० पुसमा बनेको गठबन्धन भत्किएसँगै गण्डकीमा सरकार फेरिने निश्चित भएको छ । अब एमाले बाहेकका दलले सरकारको नेतृत्व पाउने निश्चित छ । तर कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल कायमै छ । सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादीले सरकारको नेतृत्वमा दाबी गरेका छन् । दुवै दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि कसले सुरुमा नेतृत्व गर्ने भन्ने सहमति भइसकेको छैन । 

अधिकारी नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा २ अनुसार बनेको थियो । यो सरकारले एक पटक विश्वासको मत पाइसकेपछि पुनः ढलेको अवस्था  छ । त्यसैले अब प्रदेश प्रमुखले धारा १६८ (२) अनुसारको सरकार गठनको आव्हान गर्छन् या उपधारा ३ ति फड्किन्छन् भन्ने निश्चित छैन । प्रदेश प्रमुखले १६८ (३) अनुसार नयाँ सरकार बनाउन आह्वान गरे कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित छ । किनकि गण्डकीको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस हो । यस्तो भएमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ । संविधानको धारा १६८ (२) अनुसार आह्वान भएमा मिलिजुली सरकार बन्नेछ । जसमा कांग्रेस र माओवादीबीच नेतृत्वबारे समझदारी हुनुपर्नेछ । 

प्रदेशसभाको बैठकपछि कांग्रेस संसदीय दलका नेता पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने दाबी गरे । उनले धारा १६८ को उपधारा २ अनुसार हुन्छ वा ३ अनुसार भन्ने बारेमा भने केही बताएनन् । यद्यपि प्रदेश प्रमुखले संविधान पढेर जुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्छन्, सोही उपधारा अनुसार सरकार बन्ने बताए । नेकपा माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीमा संविधानको धारा १६८ (२) अनुसारकै सरकार बन्ने दाबी गरे ।