लोकसंवाद संवाददाता | खेलकुद | बैशाख १०, २०८०
एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएई र सिंगापुरबीचको खेलमा ७४१ रन बनेको छ ।
आइतबार समूह 'बी’मा रहेको यूएईले २०१ रनको जित निकालेको खेलमा दुवै इनिंग्स गरी कुल ७४१ रन बनेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले अन्तिम बलमा अलआउट हुनुअघि ४७१ रन जोड्यो । ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ९ विकेटको क्षतिमा २७० रन बनायो ।
खेलमा यूएईले कुल २६ छक्का र ४१ चौका प्रहार गर्यो । सिंगापुरले १० छक्का र २७ चौका हिर्कायो ।
दुवै इनिंग्समा गरी कुल ३६ छक्का र ६८ चौका प्रहार भए ।
एक दिवसीय फर्म्याटको खेलमा यूएईले जोडेको यो अहिलेसम्मकै ठूलो स्कोर हो । त्रिवि मैदानमा बनेको यो अहिलेसम्मकै उच्च स्कोर पनि हो ।
यूएईका २ जना ब्याट्सम्यानले शतक प्रहार गरे । ओपनर तथा कप्तान मोहमद वाससम र विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले शतक प्रहार गरे ।
वासिमले १६० रन बनाए । ८२ बल खेलेर आउट हुनुअघि उनले ९ चौका र १६ छक्का प्रहार गरे । उनले ६२ बलमा शतक पूरा गरे ।
वासिमले गत महिना पनि कीर्तिपुर मैदानमा शतक हिर्काएका थिए । उनले विश्वकप क्रिकेट लिग- २ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ११९ रन बनाएका थिए ।
वृत्यले ९६ बलमा शतक प्रहार गरे । उनले १३३ बलमा १७ चौका र ७ छक्काको मद्दतमा १७४ रन जोडे ।
यस्तै, आयन खानले ५० बलमा ७४ रन जोड्ने क्रममा ९ चौका र ३ छक्का हिर्काए ।
बलिङमा सिंगापुरका अद्वृत्य भार्गवाले ४ विकेट लिए ।
जबाफी ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा २७० रन जोड्यो । सिंगापुरका लागि मनप्रीत सिंहले ६६ रन जोडे भने थिलिपन ओमाइदुराइले ५२ रन बनाए ।
बलिङमा यूएईका आयन खान, कार्तिक मियाप्पन र सचित शर्माले २/२ विकेट लिए ।
समूहमा दोस्रो स्थानमा रहेको यूएईले ३ खेलमा २ जित हात पार्दै ४ अंक जोडेको छ । शीर्ष स्थानको हङकङको २ खेलबाट ४ अंक छ ।
प्रतियोगितामा नेपाल समूह 'ए’मा छ । नेपालले सुरुआती दुवै खेलमा जित निकालेको छ । नेपालले तेस्रो खेल सोमबार साउदी अरेबियासँग मूलपानी मैदानमा खेल्दै छ ।