उपनिर्वाचन २०८०: पुराना राजनीतिक शक्तिको अस्तित्वमाथि धावा !

लोकसंवाद टिप्पणी

उपनिर्वाचन २०८०: पुराना राजनीतिक शक्तिको अस्तित्वमाथि धावा !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०८०

काठमाडौँ ।  आइतबार भएको तीन क्षेत्रमा भएको उपनिर्वाचन मध्ये तनहुँ–१ को प्रारम्भिक मत परिणाम आउन सुरु गरेको छ । जसमा काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएका स्वर्णिम वाग्लेले दोब्बर बढीको अग्रता बनाएका छन् ।

यो क्षेत्र गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्र हो । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको यो क्षेत्रमा उपनिर्वाचन भएको हो । काँग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार छन् । उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये २ क्षेत्रमा रास्वपाको बलियो जनमत देखिएको छ ।

यो पार्टीले गत ४ मंसिरमा स्थापनाको ६ महिना पनि नपुग्दै संसदमा २० सिट जितेर चौथो ठूलो पार्टी बनेको थियो । सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ मा पनि उपनिर्वाचन भएको छ । बारा–२ मा रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो । जसमा सप्तरीमा ४ मंसिरको निर्वाचनमा जनमत पार्टीका सीके राउतसँग पराजित भएका उपेन्द्र यादव उम्मेदवार छन् । यो क्षेत्रमा पनि माओवादी छाडेर जनमत पार्टीमा गएका शिवचन्द्र कुशवाह बलियो उम्मेदवार छन् । आइतबार भएको उपनिर्वाचनमा बारामा बाहेक चितवन र तनहुँमा ४ मंसिरको भन्दा कम मतदान भएको छ । उपनिर्वाचनलाई तत्काल रहेको सरकार र सत्तारुढ दलहरुका लागि परीक्षाका रुपमा हेरिन्छ । सरकारको लोकप्रियता/अलोकप्रियता यस्ता निर्वाचनले मापन गर्छन् । 

खाली भएका तीन क्षेत्रमध्ये रास्वपा, काँग्रेस र जसपाको १–१ सिट हुन् । तर यो निर्वाचनबाट काँग्रेस र जसपाले सिट जोगाउन कठिन हुने प्रारम्भिक परिणामले देखाउँछ । यी ३ मध्ये २ सिटमा रास्वपाको बलियो सम्भावना देखिँदा एक सिटमा जनमतले उपेन्द्र यादवलाई कडा चुनौती दिने देखिन्छ । तनहुँमा रहेका ९ जना उम्मेदवारमध्ये रास्वपाका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेबाट उम्मेदवार बनेका पूर्वआईजीपी सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । मतदान सकिदा काँग्रेस र एमालेको ठूलो मत स्वर्णिम तिर गएको अनुमान गरिएको थियो । प्रारम्भिक परिणामले पनि यसलाई पुष्टि गरेको छ । 

गठबन्धनका उम्मेदवार जिताए मन्त्री बनाउने देखि जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसदमा नभई नहुने पात्रका रुपमा चित्रित गर्ने कोशिस गरेका थिए । यी चुनावी सभाहरुमा जनताको उपस्थिति राम्रै देखिन्थ्यो । तर भर्खरै उदाएका शक्तिका विरुद्ध मोर्चाबन्दी गर्नुपर्ने जुन अवस्था देखिएको छ । यसले ठूला पार्टीको अस्तित्वमाथि धावा बोलेको प्रष्ट देखिन्छ ।  तराईको जनमतलाई अब कसले नेतृत्व गर्ने भन्ने लडाई उपेन्द्र र सीके राउतबीच देखिन्छ ।

चुनावको मुखमा कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले कांग्रेसको भोट काट्ने विश्लेषण पहिलेदेखि नै थियो । यस्तो अवस्थामा एमालेले गत ४ मंसिरमा ल्याएको करिब २० हजार मत जोगाउन सके जित्ने उसको अनुमान थियो । तर एमाले उम्मेदवार खनाल तेस्रो स्थानमा छन् । यो उपनिर्वाचनमा रास्वपा, एमाले र नेपाली काँग्रेससहितका पुराना राजनीतिक दलले आफ्नो ठूलो शक्ति ३ निर्वाचन क्षेत्रमा केन्द्रित गरेका थिए । रास्वपाको सिंगो टिम चितवनमा केन्द्रित भएको थियो । तर, पुराना राजनीतिक दलहरु जनतामाझ अलोकप्रिय बन्दै गएको यो उपनिर्वाचनले देखाएको छ ।

चितवनमा १ सिट गुमाएको रास्वपाले १ सिट थप्ने सम्भावना देखिएको छ भने जनमत पार्टीले १ सिट जोड्ने सम्भवना देखिन्छ । यदी दुई पार्टीले सिट थप्न नसकेपनि अघिल्लो निर्वाचन भन्दा बारा र तनहुँ दुवै क्षेत्रमा उल्लेख्य रुपमा भोट बढ्ने सम्भावना छ । तनहुँमा वाग्लेको पक्षमा गाउँगाउँमा माहोल देखिए पनि त्यो मतदानमा प्रकट भयो वा भएन भन्ने छिट्टै प्रमाणित हुनेछ । वाग्लेले यसपटक पार्टी हैन मत बदल्नुस् भन्ने आव्हान गरेका थिए । सोही अनुसार मत ट्रान्सफर भएको खण्डमा आगामी संसदमा वाग्लेलाई देखिने सम्भावना बलियो देखिएको छ । 

संसद छिर्न सत्ता गठबन्धनमा उपराष्ट्रपतिको अड्को थापेर सफलता पाएका उपेन्द्र यादव ‘ब्यालेट बक्स’ मा अघि हुन्छन् वा हुँदैनन् भन्ने प्रष्ट छैन । तर, बारामा जसपाले केही बुथ नै कब्जा गरेको जनमत पार्टीले आरोप लगाएको छ । बुथ अनुगमन गर्दै हिँडेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रहरीले पचरौता–७ बेलौलीमा रोकेको थियो भने देवताल– ७ को वडा कार्यालयको मतदान केन्द्रमा जसपा नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव फर्जी मतपत्रसहित पक्राउ परेका थिए । यसले निर्वाचनमा अनियमितता गरेको आशंकामा बल पुर्‍याएको छ । 

बारा–२ मा २४ जना उम्मेदवार छन् । जसमध्ये सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल मुख्य प्रतिस्पर्धी छन् । 

उपनिर्वाचनको प्रचारका लागि सत्ता गठबन्धनबाट तीन पूर्वप्रधानमन्त्रीसहितको जम्बो टोली तीनवटै निर्वाचन क्षेत्रमा पुगेको थियो । उनले सबै क्षेत्रमा गएर गठबन्धनका उम्मेदवार जिताए मन्त्री बनाउने देखि जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसदमा नभई नहुने पात्रका रुपमा चित्रित गर्ने कोशिस गरेका थिए । यी चुनावी सभाहरुमा जनताको उपस्थिति राम्रै देखिन्थ्यो । तर भर्खरै उदाएका शक्तिका विरुद्ध मोर्चाबन्दी गर्नुपर्ने जुन अवस्था देखिएको छ । यसले ठूला पार्टीको अस्तित्वमाथि धावा बोलेको प्रष्ट देखिन्छ । 
तराईको जनमतलाई अब कसले नेतृत्व गर्ने भन्ने लडाई उपेन्द्र र सीके राउतबीच देखिन्छ ।

गत निर्वाचनमा उपेन्द्रलाई हराएर सिके राउतले संसदमा पाइला मात्रै राखेनन्, जनमतलाई राष्ट्रिय पार्टीका रुपमा उभ्याएर मधेसमा बलियो उपस्थिति रहेको पुष्टि गरे । २०६४ मा मधेश आन्दोलनको रापतापमा उदाएका उपेन्द्र यादवले चुनाव हार्दा महन्थ ठाकुरले पार्टीलाई राष्ट्रिय पार्टीको हैसियतमा पुर्‍याउन सकेनन् । चितवन र तनहुँसहितका क्षेत्रका मतदाताको मनस्थिति हेर्दा रास्वपा तत्कालका लागि बलियो उपस्थिति हुने देखिन्छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलको विरासत जोगाउन काँग्रेसलाई धौधौ देखिन्छ ।

कांग्रेस त्यागेर स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि सभापति शेरबहादुर देउवा आफैं प्रधानमन्त्रीसहित चुनावी सभामा सहभागी भए भने दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा उपसभापति धनराज गुरुङ चुनावी मैदानमा खटिए । अधिकांश केन्द्रीय सदस्य तनहुँ केन्द्रित भए । रास्वपाका सभापति रवि लामिछाने पनि वाग्लेका पक्षमा मत माग्न तनहुँ पुगे । यसले यो उपनिर्वाचन मात्रै नभएर पुराना राजनीतिक शक्ति र नयाँ दल बीचको संघर्षका रुपमा देखिएको छ ।