कृष्णनगर भन्सार प्रमुखको गोरख धन्दा: करिब ६० लाख राजश्वको समान ५६५ रुपैयाँमा जाँच पास !

कृष्णनगर भन्सार प्रमुखको गोरख धन्दा: करिब ६० लाख राजश्वको समान ५६५ रुपैयाँमा जाँच पास !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०८०

कपिलवस्तु । पटक पटक भन्सार कर्मचारीको मिलोमतो र 'सेटिङ' तस्करी मौलाएको भनी विवादमा आउने गरेकाे  कृष्णनगर भन्सार नाकामा  पुन: व्यापक तस्करी धन्दा मौलाएको समाचार लोकसंवाद डटकमलाई प्राप्त भएको छ । 

कृष्णनगरबाट  प्राप्त समाचार अनुसार कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गगन बहादुर विक कै संरक्षण र 'सेटिङ' मा व्यापक तस्करीको  धन्दा मौलाएको हो । 

प्रमुख भन्सार अधिकृत बिकेको 'सेटिङ' मा भन्सार बाहिरबाट खसी, बोका, राँगा, कुखुरा, चाइनिज तन्ना, चाइनिज स्याउ, केराउ समेतको तस्करी गर्ने व्यापारीलाई भन्सार अधिकृत विकास उपाध्याय मार्फत लाइन दिई खुलमखुला तस्करी गराई आर्थिक लाभ लिइरहेका छन् ।

भन्सार तिरेर माल सामान पैठारी गरी व्यापार सञ्चालन गर्ने व्यवसायीहरूको पसल मै पुगी ती भन्सार अधिकृतले मासिक रुपमा प्रमुख भन्सार अधिकृतको लागि रकम असुल्ने गरेको र महिनावारी रकम नदिने व्यवसायीहरूलाई पसलमा छापा मार्ने धम्की दिने गरेको एक पीडित व्यवसायीले गुनासो गरेका छन् ।

भन्सार अधिकृत उपाध्याय विगतदेखि नै विवादित अधिकृतको रुपमा नाम कमाएको भन्सार अधिकृत हुन् । उनी त्यहाँको स्थानीय भएका कारण प्रमुख भन्सार अधिकृतलाई आर्थिक प्रलोभनमा पारी आफू अनुकुलका व्यवसायीहरुलाई बोलाइ एक किसिमको माल बस्तुलाई अर्को किसिमको माल बस्तु भनी तथा मूल्याङ्कन कम गरी र पार्टसलाई मेसिनको दरबन्दी र कोड हाली राजश्व छली गरी गराई आर्थिक लाभ लिई जाँच पास गर्ने गरेको थुप्रै प्रमाणहरू फेला परेका छन् ।

 

टिसर्ट प्रति पिस १२५ रुपैयाँ , बेल्ट प्रति पिस ३० रुपैयाँ, मोजा प्रति पिस ४रुपैयाँ , पर्स प्रति पिस १८ रुपैयाँ, सादा चामललाई रोसटेड चामल भनी प्रति किलो  १८ रुपैयाँ मात्र मूल्य कायम गरी तथा भारतीय कस्टममा लाग्ने गरेको २० प्रतिशत थप जिएसटी रकम मूल्यमा थप गरी चामलको मूल्य कायम गर्नु पर्नेमा विल अफ इक्सपाेर्ट नै स्केन गरी  जाँच पास हुने गरेको छ ।

एम १३२२५ मिति २१/११/२०२२ नम्बर को प्रज्ञापन पत्रबाट 'केमिकल प्लान्ट प्राेसेस इक्युमेन्टस'  भनी भन्सार महसुल र मूल्य अभिवृद्धि कर छुट दिई ५६५ सेवा शुल्क मात्र लिई ठुलो आर्थिक चलखेल गरी रिद्धिसिद्ध लिमिटेड प्रालि कपिलवस्तु (इगजिम काेड नम्बर ६०९६७७२५६०१५७ एन पी) को सम्मान जाँच पास गरेको प्रमाण हामीलाई  प्राप्त  भएको  छ ।

जबकि सो समानको विवरण इन भ्वाइस प्याकिङ लिस्टमा उल्लेख भए अनुसार १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लाग्नु पर्ने हो । सो माल बस्तुको बिल रकम अनुसार ५९ लाख ८२ हजार ७२४ रुपैयाँको भन्सार महसुल र मुअ कर १७ लाख ३५ हजार हुनु पर्नेमा  ५६५ सेवा शुल्क मात्र लिई जाँच पास गरिएको छ । यो त भन्सार अधिकृत उपाध्यायको कालो कर्तुतको एउटा नमुना मात्र भएको ती व्यापारीको दाबी छ । 

टिसर्ट प्रति पिस १२५ रुपैयाँ , बेल्ट प्रति पिस ३० रुपैयाँ, मोजा प्रति पिस ४रुपैयाँ , पर्स प्रति पिस १८ रुपैयाँ, सादा चामललाई रोसटेड चामल भनी प्रति किलो  १८ रुपैयाँ मात्र मूल्य कायम गरी तथा भारतीय कस्टममा लाग्ने गरेको २० प्रतिशत थप जिएसटी रकम मूल्यमा थप गरी चामलको मूल्य कायम गर्नु पर्नेमा विल अफ इक्सपाेर्ट नै स्केन गरी  जाँच पास हुने गरेको छ ।

 

भन्सार अधिकृत उपाध्यायको सेटिङ र प्रमुख भन्सार अधिकृत बिकेको संरक्षणमा पुनः कृष्णनगर भन्सार कार्यालय नेपाल भरको 'सेटिङ'काे आधारमा तस्करी हुने गरेको छ । यसरी तस्करी हुने  भन्सारको रुपमा बुटवलको माल सामान भैरहवा र वीरगन्जको सामान वीरगन्ज भन्सार कार्यालयबाट नआई कृष्णनगर भन्सार कार्यालय भएर आउने गरेको कार्यबाट नै प्रमाणित हुने गरेको छ ।  

भन्सार कार्यालय भित्र र बाहिरबाट हुने तस्करी सम्बन्धमा अन्य कर्मचारीले कुरा उठाउँदा निज प्रमुख विकले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख प्रेम देवकोटा आफ्नो  'ब्याच मेट'  भएकोले आफूले जे गरे पनि फरक नपर्ने भनेर कर्मचारी र व्यापारीहरुलाई समेत थर्काउने गरेका छन् । 

प्रमुख विक कहिले पनि पुरा समय कार्यालयमा नबस्ने र कपिल बस्तुको चन्द्राैटास्थित सिद्धार्थ होटेल, विराट होटेल वा बुटवलका विभिन्न होटलहरुमा अनुसन्धानका प्रमुख 'व्याचमेट' देवकोटासँग खानपिन र मौज मस्ती गर्नमा व्यस्त रहने गरेका छन् । सो को प्रमाणका लागि कृष्णनगर भन्सारमा रहेको सी सी क्यामराको फुटेज हेरे काफी हुने कर्मचारीहरुको दाबी छ । तर  राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख प्रेम देवकोटाको समेत संरक्षण भएको हुँदा  ती फुटेज कसले हेर्ने ?

भन्सार प्रमुख विकका त्यस्ता गतिविधि रोक्ने कसले ? कुनै कर्मचारीले कार्यालय अस्त व्यस्त भएको भन्सार भित्रबाट तस्करी मौलाएको सम्बन्धमा कुरा उठाउन खोज्दा भन्सार विभागको महानिर्देशक चक्र बहादुर बुढा र मेरो घर नजिकै रहेको साथै हिमचिम समेत रहेकोले मेरो रजाइँ रहेको काममा अवरोध सृजना गरे यहाँबाट सरुवा गराइदिने प्रमुख विकले धम्काउने समेत गरेको नाम नलेख्ने सर्तमा एक कर्मचारीहरुले  बताउने गरेका छन् ।

त्यति मात्रै होइन विगतमा तस्करी गराएको आरोपमा तत्कालीन भन्सार विभागका महानिर्देशकले कारबाही गरी कृष्णनगर भन्सारबाट भन्सार विभागमा तानेका विवादित नायब सुब्बा साेभाकर भण्डारी प्रमुख भन्सार अधिकृत बिकको प्रिय पात्र हुन पुगेका छन् । ती नायब सुब्बा भण्डारी कृष्णनगर भन्सार कार्यालय विना बाच्नै नसक्ने भित्रको रहस्य के होला ? अन्य कर्मचारीले  प्रश्न गर्ने गरेका छन् । 

नेपालगन्ज भन्सार कार्यालयमा सरुवा भएको वर्ष दिन बित्न नपाउँदै पुनः प्रमुख भन्सार अधिकृत विकले गराउने तस्करी कार्यकाे प्रमुख नाइके भई अवैध कार्यबाट हुने आर्थिक लाभका प्रमुख सङ्कलन कर्ता हुन् । विकका अर्का प्रिय पात्र हुन भन्सार अधिकृत ठाकुर गौतम जसले गौरीशङ्कर सिमेन्ट प्रालि (इगजिम काेड नम्बर ६०९९९१५००१०९ एन पी) का भारतबाट पैठारी हुने मेसिनको पार्ट 'सेटिङ'काे आधारमा कम भन्सार महसुल तिराई जाँच पास गरेका हुन् । 

उ नै भन्सार अधिकृतले एम १२३६१ मिति २९/०९/२०२२ को प्रज्ञापन पत्रबाट रेल्वेको लिकलाई एक प्रतिशत भन्सार महसुल लगाई ठुलो आर्थिक लेनदेन गरी जाँच पास गरेका थिए । विजक तथा प्याकिङ लिस्टमा रेल फिक्सिङ, फाउन्डेसन स्पष्ट रुपमा उल्लेख हुँदा हुँदै पनि प्रज्ञापन पत्रमा' सेटिङ'काे आधारमा किलिङकर इन्टरग्रेटेड प्लान्ट भनी घाेषाणा गराई जाँच पास गरेको प्रज्ञापन पत्र समेत फेला परेको छ ।

प्रमुख भन्सार अधिकृत विक, भन्सार अधिकृत द्वय विकास उपाध्याय, ठाकुर गौतम, नायब सुब्बा साेभाकर भण्डारी ब्रम्हलुट गर्नाले  कुनै पनि महिनामा भन्सार विभागले तोकेको राजश्व लक्ष्य पुग्न नसकेको र अन्य कर्मचारीहरू तिनीहरूको हर्कतबाट आजित भई पटक पटक विभागमा जानकारी गराएको तर पनि कुनै किसिमको सुनवाइ नभएकोले विभागको महानिर्देशकको समेत मिलेमतो रहेको आशङ्का गर्न थलिएको छ । 

भन्सार अधिकृत गौतम विगतमा पनि सर्माट सिमेन्टको लागि अस्थायी पैठारी भई आएका क्रेनलाई ६ महिनापछि अस्थायी प्रज्ञापन पत्रमा उल्लेख भएको विवरण निकासी हुने बेलामा कुनै पनि विवरण तथा गाडी नम्बर उल्लेख नगरी ठुलो आर्थिक चलखेल गरी कागजमा मात्रै निकासी गरी पठाइएको विषयमा विवादमा तानिएका बद्नामित अधिकृत हुन् । ती क्रेन अहिले पनि सम्राट् सिमेन्ट परिसर मै रहेको समाचार स्रोतको दावी छ ।

सो क्रेनको प्रज्ञापन पत्र भन्सार कार्यालयको आशिकुडा सिस्टममा अहिले पनि सुरक्षित रहेको ती कर्मचारीले बताएका छन् । तर सम्बन्धित निकाय बेखबर रहेकोले प्रमुख भन्सार अधिकृत विकका गोरख धन्दाको सञ्जाल दिनप्रतिदिन बढ्दै गइरहेको छ ।