'हामीले नखाने खायौं, खाने खाएनौँ, यसको नियमन, अनुगमन गर्ने काम यहि विभागकै हो ।’

'हामीले नखाने खायौं, खाने खाएनौँ, यसको नियमन, अनुगमन गर्ने काम यहि विभागकै हो ।’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कृषिजन्य उत्पादनलाई उपेक्षा नगर्न आग्रह गर्नुभएको छ ।

कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेको भन्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले भन्नुभयो, ‘घरघरमा, चुलो चुलोमा विषादी छ भन्ने आम धारणा छ । हामीले नखाने खायौं, खाने खाएनौँ, यसको नियमन, अनुगमन गर्ने काम यहि विभागकै हो ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रयोगशाला स्तरोन्नतिमा आफ्नो विशेष जोड रहने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा काम प्रतिको लगाव महत्वपूर्ण रहने बताउनुभयो ।

‘स्रोत, साधन र जनशक्तिको व्यवस्थापनमा मेरो विशेष जोड रहन्छ । यतिले मात्र हुँदैन्, काम गर्ने तपाईहरुले नै हो, काम प्रतिको लगावले मात्र दीर्घकालिन लक्ष्य पूरा गर्न सकिन्छ,’ मन्त्री भुसालले भन्नुभयो ।

हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी चेकजाँच सम्बन्धि नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा समेत विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचेजस्तो काम हुन नसकेको भन्दै यता तर्फ गम्भीर हुन कर्मचारीलाई मन्त्री भुसालले निर्देशन दिनुभयो । 

तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसदबाट पास गर्नुपर्नेमा जोड दिदै उहाँले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
कानुनको अभावमा काम हुन नसक्ने स्थिति आए सरकारलाई खबरदारी गर्नुपर्ने भन्दै उहाँले अरु काम सम्बन्धित कार्यालयको हुने बताउनुभयो । सबै आ–आफ्नो काममा लागे मात्रै सोचेजस्तो सफलता हात पर्ने बताउनुभयो ।