नेपालीहरुको संस्थाद्वारा अमेरिकामा घरबारविहीनहरुलाई खाना तथा लत्ताकपडा बितरण

नेपालीहरुको संस्थाद्वारा अमेरिकामा घरबारविहीनहरुलाई खाना तथा लत्ताकपडा बितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०८०

अमेरिका । नेपाली समुदायका अगुवाहरु द्वारा स्थापित सँस्था एचडिएनपी इन्टरनेशनलले टेक्सासको ड्यालस फोर्टव र्थ क्षेत्रका होम लेस (घरबारविहीन) हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ ।

ड्यालस फोर्टवर्थ क्षेत्रका घरबार विहीन हरुको  अवस्था दयनीय बन्दै गएपछि उनीहरुलाई राहात पुगोस भनेर हरेक महिना खाना तथा लत्ताकपडा बितरण गर्न लागिएको हो ।

सन २०२३ डिसेम्बर सम्मका कम्तीमा पनि २ हजार जना होम लेस (घरबार विहीन) हरुलाई खाना तथा लत्ताकपडा बितरण गर्ने योजना रहेको सो संस्थाले जनाएको छ ।

बिगतमा हामीले बिशेष अवसर पारेर होम लेस (घरबारविहीन) हरुलाई खाना तथा लत्ताकपडाहरू बितरण गर्दै आएका थियौं । तर हामीले घरवार विहीनहरुको आवश्यकता महसुस गरि सन २०२३ को जनवरी देखि हरेक महिना खाना तथा लत्ताकपडा बितरण गर्ने प्रयास गरिरहेका छौं–एचडिएनपी इन्टरनेशनलका प्रमुख देबी डेभिड आचार्यले बताउनु भयो ।

संस्थाले मौसम अनुसार खानाहरू, फलफुल तथा न्यानो लुगाको रुपमा ब्लाँकेट, सिल्पिङ व्याग, सिरानी, टाउजर, सुईटर सर्ट पाईन्ट टोपीहरू बितरण गर्दै आएको जनाएको छ ।

सन् २०२३ को जनवरीदेखि हालसम्म ३ सय ४४ जना घरबारविहीन हरुलाई खाना तथा लुगा वितरण गरिएको छ । गत साता मात्रै फोर्ट वर्थ क्षेत्रको ई भिकेरीमा १ सय ५६ जनालाई खाना तथा लत्ताकपडा बितरण गरिएको थियो । एचडिएनपी इन्टरनेशनलले सन २०२३ को डिसेम्बरसम्म घरवार बिहीन व्यक्तिहरुका लागि ड्यालस फोर्टवर्थ क्षेत्रमा गरिने राहतका कार्यक्रमहरुको तालिका समेत सार्बजनिक गरेको छ ।

आचार्यका अनुसार एचडिएनपी इन्टरनेशनलले घरबार विहीन व्यक्तिहरुका लागि सन्चालन गरिने राहतका कार्यक्रमको लागि कुनै दातृ निकाय छैनन । संस्थाले हरेक बर्ष डिसेम्बर महिनामा संस्थाले गाला कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा सहभागि व्यक्तिहरुले व्यक्तिगतरुपमा प्रदान गर्ने 'डोनेशन'  रकम नै संस्थाको आम्दानीको श्रोत हो ।

एचडिएनपी इन्टरनेशनलले संचालन गरेका कार्यक्रमहरूबाट घरबार विहीनहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन । एचडिएनपी इन्टरनेशनल अमेरिकामा मानव सेवामा सकृय नेपालीहरुको पहिलो सँस्था हो । एचडिएनपी इन्टरनेशनलले सन्चालन गरिरहेको होम लेस (घरबारविहीन) हरुलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमको उच्च मुल्यांकन गरेर टेक्सास राज्य सरकारले गत बर्ष पुरस्कृत समेत गरि सकेको छ ।