प्रा. डा. हेमनाथ पौडेल | दृष्टिकोण | बैशाख १५, २०८०
नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्ले एकपछि अर्को गर्दै शृङ्खला बद्ध रूपमा नेपाली भाषामाथि प्रहार गरिरहेको छ । परिषद् गठन हुने बित्तिकै नेपाली भाषा, शब्दकोश र व्याकरण विभागबाट नेपाली शब्द हटाइयो । सुझाव दिदा त्यसलाई विरोधका रूपमा लिइयो । कुलपतिले एउटा अनलाइनसँगको अन्तर्वार्तामा संविधानमा नेपाली भाषालाई सरकारी कामकाजको भाषा भन्नु ठिक हो र ? भनेर प्रश्न गर्नुभयो र नेपाली भाषामाथिको दुराशय प्रकट गर्नुभयो । उहाँका नेपाली भाषामाथिका दुराशय पूर्ण अभिव्यक्तिहरू बारम्बार आइरहेकै छन् । यसपछि अहिले २०२२ सालदेखि सञ्चालन गरिँदै आएको नेपाली भाषाको राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक गराउने सूचना जारी गरी कविता आह्वान गरिएको छ । यो मातृभाषाप्रतिको सम्मान नभएर नेपाली भाषालाई सीमित गर्ने प्रयास हो भनेर जो कसैले पनि बुझ्न नसक्ने कुरै भएन। नेपालमा बोलिने सबै भाषाप्रति हाम्रो सम्मान छ तर कुनै एक भाषालाई सम्मान गर्ने नाममा अर्को भाषाको अवमूल्यन पनि गर्न पाइन्न भन्ने कुरामा सचेत हुनुपर्दछ ।
मातृभाषा कविता महोत्सव हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन फागुन ९ गते भव्यतापूर्वक मनाउने गरिएकै छ । त्यसलाई पनि प्रतियोगितात्मक बनाउने कि भन्ने बारेमा वैरागी काइँला कुलपति भएको बेला छलफल भएकै हो तर बहुभाषिक रचनाका बिचमा प्रतियोगिता हुँदा सही मूल्याङ्कन भई न्यायपूर्ण हुन नसक्ने र प्रायस् असम्भव नै हुने हुँदा सो दिन अप्रतियोगी मातृभाषा कविता महोत्सव गर्ने निर्णय भई प्रत्येक वर्ष मातृभाषा कविता महोत्सव हुदै आएको छ ।
बहुभाषिक कविताका बिचमा प्रतियोगिता गराउनु भनेको बहु संस्कृतिका बिचमा प्रतियोगिता गराउनु जस्तै हो । सबैका संस्कृतिका आआफ्नै विशेषता र मान्यता हुन्छन् । त्यस्ता संस्कृतिका बिचमा प्रतियोगितात्मक मूल्याङ्कन गर्नु अस्वाभाविक नै हुन्छ । भिन्न भिन्न भाषिक रचनाका बिचको प्रतियोगितात्मक मूल्याङ्कनको कुरा पनि यही नै हो । बरु यस्तो बहुभाषिक कविगोष्ठी विश्व कविता दिवसका दिन गर्न सकिन्थ्यो तर वर्तमान प्राज्ञ परिषद्ले यसपालि विश्व कविता दिवस नै मनाएन, बरू बेवास्ता नै गर्यो ।
नेपालमा अहिले १३१ भन्दा बढी भाषाहरू बोलिन्छन् । ती सबै भाषामा रचिएका कविता बुझ्ने एउटै विज्ञ हुँदैन । हरेक भाषाका कविताका लागि सोही भाषा बुझ्ने विज्ञ मूल्याङ्कन कर्ता चाहिन्छ । हरेकले आफ्नै भाषाको कवितालाई विशेष जोड दिने हुन्छ र तुलनात्मक मूल्याङ्कन सम्भव हुदैन अनि यसले झन ठुलो विवादको रूप लिन्छ । नेपाली अनुवाद गरेर कविता बुझाउनुपर्ने र त्यही पढेर मूल्याङ्कन गर्ने हो भने नेपालीमै लेखे भइ गयो नि ! सम्बन्धित भाषामा लेख्नुको के अौचित्य भयो र ? कविता भनेको भाव, भाषा र कलाको त्रिवेणी भएकाले अनुवाद गरिएको कविताबाट सही मूल्याङ्कन हुन सक्दैन । एउटै भाषाका रचनाका बिचको मूल्याङ्कन जस्तो हुन्न फरक फरक भाषाका रचनाका बिचको मूल्याङ्कन । यस्तो मूल्याङ्कन अति संवेदनशील हुन्छ । यसमा समुदायको भावना जोडिएको हुन्छ । समुदाय समुदायका बिचमा लडाइ गराउने काम राम्रो होइन ।
राष्ट्रिय कविता महोत्सवलाई समावेशी र सहभागितामूलक बनाउने भन्ने नाउँमा दुराशय राखी गरिएको यस कार्यले राष्ट्रिय कविता महोत्सवको गौरवमय परम्परामा आघात पुर्याउनुका साथै संसारभर छरिएर बसेका नेपाली भाषामाथि पनि चोट पुर्याएको छ ।
गोरखा पत्रमा प्रकाशित सूचनामा शब्दको सीमा र कविता अर्को कुन भाषामा अनुवाद गरेर बुझाउने भन्ने खुलाइएको छैन । यसबाट लामा कविता तथा खण्डकाव्य र महाकाव्य पनि प्रतियोगितामा सामेल हुन सक्ने देखिन्छ । जति जना वाचनका लागि छनोट हुन्छन् सबै पुरस्कृत हुने कुराले यसको महत्त्व र गरिमालाई घटाएको छ । बरु छनोट भएका कविलाई १५ हजारको पुरस्कार दिनुको सट्टा कविगोष्ठी गरेर आतेजाते यातायात सुविधा र खाना खर्च दिदा सम्मान हुन्छ ।
कुलपति राईले आफ्नो फेसबुक पोस्टको बुँदा नं २ मा 'नेपालका सबै भाषा र मातृभाषामा लेखिएका कवितालाई उत्तिकै महत्त्व दिइने छ' भनेर उल्लेख गर्नुभएको छ । प्रतियोगिताबाट १० जनालाई छनोट गरी पुरस्कार दिने अनि सबैलाई उत्तिकै महत्त्व दिइएको भन्न कसरी मिल्यो र रु जति कविता प्राप्त हुन्छन् सबैलाई १५र १५ हजार दिइयो भने मात्र सबैलाई उत्तिकै महत्त्व दिएको ठहर्छ । साथै उहाँले 'यस पटकदेखि राष्ट्रिय कविता महोत्सवको अविच्छिन्न परम्परालाई थोरै विच्छिन्न बनाइएको छ भनेर पनि उल्लेख गर्नुभएको रहेछ । राष्ट्रिय कविता महोत्सवको गौरवमय परम्परा र मर्ममाथि नै प्रहार गरी गरिएको यो उद्दण्ड कार्यलाई कसरी थोरै मान्ने ? यसबाट राम्रा र स्थापित हरेक कुरालाई भत्काउने र औचित्यहीन कार्य गर्दै जाने उहाँको नियत प्रष्टै देखिन्छ ।
मातृभाषा र साहित्यप्रति यति धेरै मोह राख्ने वर्तमान कुलपतिले अरू मातृभाषाका बारेको अध्ययनको त कुरै छोडौँ आफ्नै राई भाषामा कतिवटा कविता लेखेर छपाउनुभएको छ ? कति अध्ययन-अनुसन्धान गरेर आफ्नो मातृभाषाको समृद्धिका निम्ति काम गर्नुभएको छ ? यतिखेर उहाँ संस्कृति विभाग प्रमुख हुनुहुन्छ । नेपालको राष्ट्रिय संस्कृतिका साथै कुन कुन जाति र समुदायका संस्कृतिको उहाँले अध्ययन-अनुसन्धान गर्नुभएको छ र विज्ञ हुनुभयो ? कुरा मातृभाषा र साहित्यको गरेर नथाक्ने तर आफ्नै मातृभाषामा सिन्कोसम्म नभाँच्ने कुराले मातृभाषा साहित्यको हित भएको ठानिन्छ र ? राष्ट्रिय कविता महोत्सवलाई समावेशी र सहभागितामूलक बनाउने भन्ने नाउँमा दुराशय राखी गरिएको यस कार्यले राष्ट्रिय कविता महोत्सवको गौरवमय परम्परामा आघात पुर्याउनुका साथै संसारभर छरिएर बसेका नेपाली भाषामाथि पनि चोट पुर्याएको छ । यस कार्यले नेपाली भाषामाथिको उहाँको विद्वेषलाई थप पुष्टि गरेको छ । अतः यस सम्बन्धमा वर्तमान प्राज्ञ परिषद्ले गम्भीरतापूर्वक सोचोस् ।
निवर्तमान प्राज्ञ परिषद् सदस्य, काव्य विभाग प्रमुख,निमित्त सदस्य सचिव डा.हेमनाथ पौडेलको फेसबुकवालबाट