शिक्षाको लक्ष्य दुराचारी कि सदाचारी ? सत्यको खोजीमा उदाहरणीय पूर्वीय वाङ्मयका सन्दर्भ

फर्कलान् र ती दिनहरु

शिक्षाको लक्ष्य दुराचारी कि सदाचारी ?  सत्यको खोजीमा उदाहरणीय पूर्वीय वाङ्मयका सन्दर्भ

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  बैशाख १६, २०८०

मैले पाएको पहिलो शिक्षा भनेको सत्यको खोजी गर्दा धेरै समस्याहरु आउँछन्, धैर्यताका साथ त्यसको खोजी आवश्यक छ । कल्पनाले सत्यको नजिक पुर्‍याउँछ कि सत्यले कल्पनाको संसारमा विचरण गराउँछ ? यसको पनि खोजी आवश्यक रहेछ । 

एउटा आदर्शप्रति सचेत मानिसको प्रतिबद्धता रहन्छ भन्छन् । एकपटक सत्य लागेको कुरालाई, विचारलाई जोगाउन या त्यो सिद्धान्तलाई पालना गर्न जीवनभर, सधैँ प्रतिबद्धताको जरुरत पर्दछ कि सत्य सापेक्षताको आधारमा परिवर्तन हुन्छ होला ? सायद सत्यको खोजीमा लाग्दा धेरैको यो परीक्षा लिएको हुन्छ समयले । परिवर्तनले नयाँ समय जन्माउँछ कि समयले परिवर्तनको नयाँ नयाँ संस्करण जन्माउँछ ? यसको  पहिचान कसले गर्ने ? 

मैले एउटा कथा पढेको थिएँ । दुई जना अध्येताहरू मृत्युका बारेमा खोजी गर्दै थिए । उनीहरुमध्ये एउटाको खोजीको विषय थियो - मानिस किन धेरै बाँच्दैन ?  अर्कोको खोजीको विषय थियो- मानिस किन मर्छ ? ती दुई सबैले मान्ने गरेको अनुसन्धाता थिए र ती दुवैजना आफ्ना आफ्ना खोजीलाई सत्यको खोजीको रुपमा मान्थे र एकदिन आफू निचोडमा पुगेर संसारलाई नयाँ खोजीको परिणाम दिएर आफैँ धन्य हुने खोजीमा थिए ।

त्यो बेला ती दुबै जना  साधुको भेषमा हिँडेका थिए र संसारका अरु सबै कुराहरु प्रति कुनै ध्यान नदिई मात्र आफ्ना विषयमा मानिसहरुसँग छलफल गर्थे, बहस गर्थे र विभिन्न भौतिक वादी, आध्यात्मिक वादी तथा धार्मिक गुरुहरूसँग सल्लाह लिन्थे । कसैले के भन्थे, कसैले के भन्थे तर उनीहरु अनवरत आफ्ना खोजीमा भौँतारिई रहेका थिए । उनीहरुले एकअर्काको नाम र कामका बारेका सुनेका त थिए, साक्षात्कार भएको थिएन । एकजना पूर्व तर्फबाट पश्चिमतर्फ जाँदै थिए त अर्को पश्चिम तर्फबाट पूर्वतर्फ जाँदै थिए । जङ्गलको बाटो आफ्ना अनिश्चित गन्तव्यतर्फ हिँडिरहेको समय गर्मीको बेला थियो, एउटा कुवाको छेउमा चौतारी थियो, त्यहाँ आराम पनि गरौँ र पानी पनि पिउ भनेर पश्चिम तर्फबाट आएका अध्येता टुसुक्क बसे र पानीका लागि कुवातिर गए । त्यहाँ पानीको व्यवस्था हुनाले गोठालाहरू पनि त्यहीँ नजिकै गाई चराउँदै थिए ।

कोही गोठालाहरू त्यही चौतारीको शीतला आराम गरेर बसेका थिए त कोही खेल्दै थिए । त्यही समयमा  पूर्व तर्फका अध्येता पनि त्यही चौतारामा आइपुगेका थिए । पानी पिएर फर्केका अध्येता र भर्खर आएका अध्येताका बिचमा चिनजान, भलाकुसारी सुरु भयो । पछि आउने अध्येताले पनि कुवामा गएर पानी पिए र आफ्ना विषयमा कुरा गर्न थाले । अब उनीहरु आ-आफ्ना अनुसन्धानमा बहस गर्न थाले । चर्काचर्की पर्न थाल्यो र आफ्ना आफ्ना विषयमा अकाट्य भन्दै तर्क दिन थाले । विषय त उही थियो - मान्छे किन धेरै बाँच्दैन? मान्छे किन मर्छ ? 

उनीहरुको चर्काचर्कीले गोठालाहरूमा जिज्ञासा उत्पन्न भयो र कुटाकुट गर्ने पो हुन् कि भनेर हेरिरहेका थिए । झनझन बहस हुन थाल्यो र एकले अर्कालाई गाली पो गर्न थाले । त्यही बेलामा गोठालाहरू मध्येको एकजना जसले सुरुदेखि उनीहरुको कुरा सुनिरहेको थियो, त्यसले भन्यो- कुरा एउटै होइन र तपाईँहरुले भनेको ? अनि ती दुवै अध्येता त्यो गोठालातिर फर्केर भन्न थाले, कसरी एउटै हुन्छ हाम्रो अनुसन्धानको विषय ? अनि गोठालाले बडो सहज तरिकाले भन्यो -  हुन त मैले पढेको पनि छैन र विद्वानहरूको कुरा बुझ्न पनि सक्दिन तर  तपाईँहरु एउटै कुरा गरेको जस्तो पो लाग्यो ।  मानिस किन मर्छ भन्नु र मानिस किन बाँच्दैन भन्नु एउटै कुरा होइन र ? अनि ती अध्येताहरू अवाक भएछन् र त्यो अबोध गोठालो फेरि भनेछ -एउटै कुरा खोज्ने तपाईँहरु मिलेर अनुसन्धान गर्नुभयो भने पक्कै पनि निचोडमा पुग्नु हुनेछ । यसरी एउटा अबोध मानिएको गोठालाले पनि सत्यको पहिचान गर्‍यो र ती अध्येताहरूलाई अनुसन्धानका लागि सल्लाह दिन सक्यो । 

शिक्षाले कसरी सत्यको पक्षका उभिन सिकाउँछ भन्ने बारेमा धेरै उदाहरण दिन सकिन्छ । हाम्रो पूर्वीय संस्कृतिमा सत्यका पक्षमा नै  वेद, उपनिषद् तथा पुराण, महाभारत, रामायणको रचना भएको पाइन्छ । जति पनि साहित्यको रचना गरिएको छ, सबैले सदाचार र सत्यको पक्षमा वकालत गरेका छन् ।

सत्यको खोजी गर्ने उपाय भनेको शिक्षाको मुख्य लक्ष्य हो, मुख्य प्रक्रिया हो र परिणाम पनि सत्यप्रति अडिग रहने जनशक्तिको उत्पादन हो, तिनीहरुको सत्य निष्ठाका आधारमा राज्यको सदाचारी जनशक्तिको तयारी गरेर ती मार्फत् मुलुकको सञ्चालन गर्ने हो । जसलाई हामीले  खराब मानिस मान्छौँ, ती वास्तवमा खराब होइनन् होला, तर तिनले सुरुमा पाएको शिक्षा नै सदाचारी हुने भन्दा दुराचारी बनाउने थियो होला । हामीले सत्यको खोजीको कुरा गर्दा विश्वका आदिकवि वाल्मीकिको आदि कथा सम्झन्छौं जुनबेला उनी रत्नाकर डाँका थिए । अर्थात् परिवार पाल्नका लागि बाटामा हिँड्ने यात्रीहरुलाई लुट्ने, मार्ने र उनीहरुका सामान लुटेर परिवारको जीविका चलाउने ।  उनलाई त्यही कर्म नै सदाचार भएको थियो किनभने त्यो सजिलो उपाय थियो । कारण उनी बलिया थिए, आफ्नै क्षेत्रमा आउने जाने निरीह यात्रीहरुलाई पिटेर, थर्काएर लुट्थे ।

एकपटक देवर्षि नारद कतै जाँदै थिए आफ्नो वीणा लिएर, त्यही बेला लुटेराको रुपमा बाटोमा यात्रु पर्खेर बसेको रत्ना करले अरु सामान्य यात्रुलाई झैँ आफ्नो सामान, सम्पत्ति बुझाउन भन्यो र यदि नबुझाए टाउकोमा हतियारले हानेर मार्न समेत सक्ने धम्की दियो । अनि नारदले सोधे, तिमी कसका लागि यो अपराध गरेर बाटा बाटामा बसेका छौँ? उसले भन्यो, घरमा बृद्ध बा आमा, पत्नी , छोराछोरीका लागि यो काम गर्छु । नारदले पनि सोधे, तिमीले गरेको अपराध र पापको भागी तिम्रा बा आमा पत्नी तथा छोराछोरीले लिन्छन् त ? पापको अंशमा उनीहरुको पनि भाग पर्छ त ? रत्नाकरले भन्यो, त्यो त सोध्नुपर्छ,  सबैले मैले कमाएको खान्छन् भने पाप पनि भोग्छन् नै । 

अनि नारदले भनेछन्, मलाई यही लहराले बाँधेर जाऊ र घरमा मेरो प्रश्नको उत्तर खोजेर आऊ । यसरी सत्यसँग साक्षात्कार गर्नका लागि नारदले रत्नाकरलाई घरमा पठाए । घरमा गएर सोध्न थाल्यो पहिले पिताजीलाई । मातालाई । पिता माताले आफूहरुले जन्माएको, हुर्काएको र अब बृद्ध भएकाले पाल्ने काम छोराको भएकाले तैँले गरेको पाप बाँडेर लिन नसक्ने बताए । पत्नीले पनि आगोको वरिपरि घुमेर  पाले पुण्य मारे पाप भनेर आएकी पत्नीले पाप बाँड्ने कुरै आउँदैन, जसरी पाल्नुपर्छ, पाल ! छोराछोरीले पनि बाल्यकालमा पिताजीको पाल्ने कर्तव्य हो, अहिले हामी तपाईँको पाप लिन सक्दैनौँ । अनि पो झल्याँस्स भयो रत्नाकर !

 सोच्यो, अहिलेसम्म म भ्रममा रहेछु । भगवानको सृष्टि मा कोही पनि भोकै मर्दैन भने मैले किन पाप गरी गरी मानिसहरुलाई लुटपाट गरी कमाउनु पर्‍यो र ? अब म पनि जीवनलाई मोक्षको मार्गतिर लैजान्छु र आजैबाट डाँकाको काम छोड्छु भन्ने पश्चातापले भरिँदै नारद समक्ष आएर रुन कराउन थाल्यो । र भन्न थाल्यो - हे देवर्षि, अब मलाई पार लगाउनुस् यो पाप कर्म र गलत कामबाट ! रुन थाल्यो, धुरुधुरु र भन्न थाल्यो, म पनि हजारसँगै जान्छु मोक्षका लागि ! नारदलाई लाग्यो, आवेशमा आएर जेजे भने पनि यो भ्रष्ट व्यक्ति हो, बाटोमा फेरि  जे पनि गर्न सक्छ , लागेको बानी कसरी छोड्दा र ?

अनि नारदले पनि मोक्षका लागि राम शब्दको जप तप गर्न त लाउन हुन्थ्यो तर कुपात्रलाई शिक्षा दिँदा पनि पाप नै लाग्छ भनेर मरा भन्ने उल्टो शब्द सिकाएर हिँडे । तर उसलाई त्यही शब्द नै सही लाग्यो र नारदलाई गुरु मानेर मरा मरा मरा भन्न थाल्यो त्यही ठाउँमा । मरा मरा मरा भन्दा भन्दा राम राम भन्ने शब्दको उच्चारण दोहोरिन थाल्यो र रामको नामको सिद्धि प्राप्त भयो ।

जब उसमा ज्ञानको ज्योतिले अन्धकारलाई छोपियो, अनि उसले आफूलाई धमिराको गोलोभित्र पायो । रत्नाकरको नयाँ अवतारको रुपमा धमिराको गोलो भित्रबाट निस्केको रत्नाकर नै हाम्रालागि पहिलो कवि भएर उदाएका थिए । सत्यसँगको साक्षात्कार नारदले गराएका थिए । अर्थात् त्यो सत्यको शिक्षा दिएकाले संसारले पहिलो आदिकविको रुपमा वाल्मीकिलाई पायो, पहिलो ग्रन्थका रुपमा बाल्मीकि रामायण संसारले पायो । 

सत्यसँगको साक्षात्कार ज-जसको भएको छ, उसले धेरै समस्यासँग जुध्नु परेको अनुभव सुनिन्छ, देखिन्छ र मानिसहरु सत्यको बाटोबाट विचलित भएर या त आफ्ना लक्ष्यहरूबाट पलायन भएका छन् या जीवन भर सत्यको खोजीमा लागेर आफूलाई विसर्जन गरेका पनि छन् । धेरै कमले मात्र सत्यसँग साक्षात्कार गर्दा सत्यको पक्षमा परिणाम प्राप्त गरेका छन् । 

हाम्रो ऐतिहासिक तथा सबैभन्दा ठुलो काव्य महाभारतका पात्रहरु मध्ये युधिष्‍ठिरलाई धर्मको अवतार मानिन्थ्यो र सत्यबाट नड्गमगाउने पात्रको रुपमा मानियो । तर उनले पनि आफ्नो भावी राज्यको लागि आफ्ना गुरुको हत्या गर्ने षडयन्त्रमा समेत सहभागी हुनुपरेको थियो र त्यो अपराधलाई उनले कहिल्यै पनि नबिर्सिएको कथा महाभारतमा पाइन्छ । कतिपय विवेचकहरुले मानेका छन् कि महाभारतका लेखक व्यासले सत्यको यति नजिक आफूलाई उभ्याएर काव्यको रचना गरेका छन् कि जसले गर्दा त्यो महाभारतभित्रको एउटा घटना संसारमा सबैभन्दा बढी चर्चामा रहेको छ- अर्जुनलाई ज्ञान दिनेक्रममा श्रीकृष्णले युद्ध मैदानमा दिएको उपदेश , श्रीमद्‍भागवत गीताको रुपमा । 

शिक्षाले कसरी सत्यको पक्षका उभिन सिकाउँछ भन्ने बारेमा धेरै उदाहरण दिन सकिन्छ । हाम्रो पूर्वीय संस्कृतिमा सत्यका पक्षमा नै  वेद, उपनिषद् तथा पुराण, महाभारत, रामायणको रचना भएको पाइन्छ । जति पनि साहित्यको रचना गरिएको छ, सबैले सदाचार र सत्यको पक्षमा वकालत गरेका छन् ।क्रमशः