भुटानका पूर्व प्रधानमन्त्रीको आक्रोश

भुटानका पूर्व प्रधानमन्त्रीको आक्रोश

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०७६

काठमाडौं, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आएका भुटानका प्रधानमन्त्री लोते छिरिङको स्थानमा भारतीय मिडियाले भुटानको चुनावी सरकारका प्रमुख छिरिङ वाङचुकको तस्विर देखाए पछि  भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोग्वेले भारतीय मिडियाको रवैयाप्रति आफ्नो आक्रोश पोखेका छन् । 

केही भारतीय टीभी च्यानलले भुटानका वर्तमान प्रधानमन्त्रीको गलत फोटो प्रयोग भएकाप्रति गम्भिर आपत्ती जनाउँदै यसबाट भुटानको अपमान भएको उनले बताएका छन् । 

भुटानका प्रधानमन्त्री लोते छिरिङ भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने क्रममा उक्त गल्ती देखिएको थियो ।

बेग्ला बेग्लै च्यानलले चुनावी सरकार प्रमुख छिरिङ र पूर्व प्रधानमन्त्री तोग्वेलाई  वर्तमान भुटानी प्रधानमन्त्री भनेर देखाएको थियो । तोग्वेले यसै सन्र्दभलाइ लिएर ट्वीटरमा आफ्नो आक्रोश पोखेका हुन् । 

छिरिङलाई गलत तस्वीरमा देखाइएको दुई स्क्रिनसट सहित तोग्वेले लेखेका छन्, ‘कुनै देशले तिनको प्रधानमन्त्रीको गलत फोटो देखायो भने भारतका मिडिया पाखुरा सुर्कने गर्छन् । तर हाम्रा प्रधानमन्त्रीको पहिचानको सन्दर्भमा भने तिनले आफ्नो बेइज्जत र हाम्रो अपमान गर्न छाडेका छैनन् ।’

उनले अगाडि लेखेका छन्, ‘भुटान देश सानो  होला तर ऊ भारतको सबैभन्दा नजिकको छिमेकी र आत्मिय मित्र हो । ’

तोग्वेको ट्वीटपछि कैयन भारतीय समाजिक सञ्जाल प्रयोगकर्ताले उनीसँग माफी मागेका छन् ।

त्यस लगत्तै तोग्वेले वर्तमान प्रधानमन्त्रीको एक तस्विर ट्वीट गर्दै भनेका छन् ,‘कैयन भारतीयले मेरो कुराको समर्थन गर्नु भएकोमा धन्यवाद । मिडियाको जानकारीको लागि पोष्टसँगै रहेको फोटो वर्तमान प्रधानमन्त्रीको हो । ’