प्रज्ञा-प्रतिष्ठानको रारा भ्रमणमा रहेका पदाधिकारीहरूद्वारा पाँच बुँदे 'रारा घोषणापत्र' जारी

प्रज्ञा-प्रतिष्ठानको रारा भ्रमणमा रहेका पदाधिकारीहरूद्वारा पाँच बुँदे 'रारा घोषणापत्र' जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०८०

मुगु  । रैथाने संस्कृति र  प्राकृतिक सौन्दर्यको  अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले  नेपाल प्रज्ञा- प्रतिष्ठानको  कुलपति भूपाल राई, उपकुलपति विमल निभा,  सदस्य सचिव धनप्रसाद सुवेदी सहितको टोली  रारा ताल  पुगेको  प्रतिष्ठानले जनाएको  छ। 

 यसै क्रममा 'सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान'  भन्ने मूल नाराका साथ रारा तालको किनारामा  पहिलोपटक नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक  बैठक  माननीय कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न गरेकाे जनाइएको छ । 

प्रतिष्ठानले दिएको जानकारी अनुसार  यस बैठकले ५ बुँदे  रारा  घोषणापत्र-२०८० साल,बैशाख १८ ,मङ्गलवार निम्न अनुसार जारी गरेको  छ।

१. नेपालको भाषिक र सांस्कृतिक विविधतालाई आत्मै देखि स्वीकार गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानलाई सबैको साझा थलो बनाइनेछ।

२. सङ्घीय गणतन्त्र नेपालको मूल्य र मान्यतालाई आत्मसात् गर्दै परिवर्तनको सौन्दर्यलाई स्थापित गरिने छ ।

३. प्राज्ञ र प्राज्ञिक कर्मको जग उच्च नैतिकता, स्वच्छ संस्कार र छविको हुने हुनाले सोही अनुसारको कर्मलाई अनुसरण गरिने छ र गराइने छ ।

४. ज्ञानका बहुविध क्षेत्र र स्रोतहरूका बहस,अध्ययन, अनुसन्धान र अभ्यासहरूलाई बढी जोड दिइनेछ ।

५. आजको युगमा प्रश्न जुनसुकै क्षेत्र, तह तप्कामा आवश्यक छ । प्रश्न नै समाज रूपान्तरणको पहिलो आधार हो । त्यसैले प्रश्न आफैँसँग पनि गरिने छ । प्रश्नसँग सँगै काम  गरिनेछ ।

 उपर्युक्त ५ बुँदे रारा घोषणापत्र 'नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च  प्राज्ञिक खोज (अनुसन्धानका लागि एक कोसे ढुङ्गा साबित हुनेमा आफू आश्वस्त रहेको कुरा   प्रतिष्ठानका  कुलपति भूपाल राईले जानकारी दिएका छन्। 

प्रतिष्ठानका अनुसार परिषद् सदस्य मधुसूदन गिरी,  परिषद् सदस्य बाबा बस्नेत,  परिषद् सदस्य कौशिला रिसाल,  परिषद् सदस्य अगिम बनेपाली र परिषद् सदस्य कृष्णराज अधिकारी सहभागीता रहेको छ ।  रारा भ्रमणमा सहभागी नभएको हुँदा रिषद् सदस्यत्रय  राजन मुकारुङ, अमर न्यौपाने र हंसावती कुर्मी भने अनुपस्थित हुनुहुन्छ ।