विप्लव समूहका पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ नेकपामा

विप्लव समूहका पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ नेकपामा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १९, २०७६

काठमाडौँ । सरकारले प्रतिवन्द लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण आउनुपर्ने जिकिर गर्नु भएको छ । 

उक्त कार्यक्रम सम्बोधन गर्दै  प्रचण्डले –‘अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस बसेर छलफल र संवाद गरौँ । इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौँ । देश र जनताका आकाङ्क्षा पूरा गरौँ । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिउँ । यो ऐतिहासिक आवश्यकता हो ।  

अध्यक्ष प्रचण्डले वैधानिक, शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिष्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूलप्रवाहमा फर्कनु सही समयको सही निर्र्णय भएको उल्लेख गर्दै राईले विगतमा गरेको त्याग, बलिदानका आधारमा आवश्यक भूमिका दिइने वचन समेत दिनुभएको थियो ।  आफँैले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा आज उहाँ पार्टीमा फर्केकामा खुशी लागेको अनुभव सुनाउनुभयो । पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहनुभएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । 

पार्टी प्रवेशका गर्दै नेता पदम राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही नपाउने तर  देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताउनुभयो ।  आफू सो समूहमा रहेर सरकारसँगको वार्तामा अग्रसरता लिएको तर त्यो सफल नभएकाले हिंसाबाट एकले अर्कोलाई बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रुपान्तरणमा लाग्नुपर्ने आफ्नो निचोड रहेको सुनाउनुएको थियो ।