के हो इमरान खान अदालतबाट पक्राउ परेको अलकादिर ट्रस्ट मुद्दा ?

के हो इमरान खान अदालतबाट पक्राउ परेको अलकादिर ट्रस्ट मुद्दा ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २७, २०८०

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामाबादस्थित अदालत परिसरबाटै पक्राउ परेका छन् । उनलाई अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका हुन् । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका बेला पक्राउ परेका हुन् ।

इस्लामावाद प्रहरीले खानलाई अल कादिर ट्रस्टबारे मुद्दामा पक्राउ गरिएको बताएको छ । पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा लिएर भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी)मा पठाइएको छ । खान अर्को मुद्दाको धरौटी बुझाउन अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ पुगेर पक्राउ गरेको हो ।

उनीविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि, आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएका भन्दै पूर्वप्रधानमन्त्री खानले ती मुद्दालाई अस्वीकार गर्दै आएका छन् । अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई गाडीमा राखेर लगेका थिए ।

के हो अलकादिर ट्रस्ट मुद्दा ?

गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आयो । त्यसपछि पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुसरा बिबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब पाकिस्तानी रुपैयाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौं रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ ।

यस सम्बन्धमा आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा इमरान खानको पीटीआई सरकारमा छँदा ब्रिटिस नेसनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानपछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए ।

आफ्ना अन्य अवैध ‘मुद्दालाई ढाक्न’का लागि व्यवसायी रियाजले अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ । खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि २६ डिसेम्बर २०१९ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए ।

यस ट्रस्टमा खान र उनकी पत्नी बुसरा बिबी मात्र ट्रस्टी छन् । मन्त्रिपरिषद्ले रियाजको स्वामित्व रहेको बहरिया टाउनका बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले सो ट्रस्ट दर्ता गरेका थिए ।

इमरान खानलाई पक्राउ गरिएपछि प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिण्डीस्थित सेनाको मुख्यालयबाहिर पुगेर तोडफोड गरेका छन् । इस्लामाबादमा प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शनकारी र प्रहरीबीचको ठेलाठेलमा ३ जना प्रहरी अधिकारी घाइते भएका छन् भने ४३ जना प्रदशर्नकारी पक्राउ परेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति लिएको आरोप लगाएका छन् । उनले भने, ‘सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई संस्थाको रूपमा बारम्बार बदनाम गर्ने तपाईंको नीति छ । के तपाईंले बजिराबाद घटना हुनुअघि नै सेना, गुप्तचर निकाय र तिनको नेतृत्वलाई बदनाम गरिरहनुभएको थिएन ?’

खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन् । खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका छन् ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । आन्दोलनकारीले प्रहरीमाथि ढुंंगा प्रहार गरेका छन् । आक्रोशित प्रदर्शनकारीले त्यहाँको गेटबाहिर तोडफोड गरी जबर्जस्ती भित्र पसेका देख्न सकिन्छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति लिएको आरोप लगाएका छन् । उनले भने, ‘सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई संस्थाको रूपमा बारम्बार बदनाम गर्ने तपाईंको नीति छ । के तपाईंले बजिराबाद घटना हुनुअघि नै सेना, गुप्तचर निकाय र तिनको नेतृत्वलाई बदनाम गरिरहनुभएको थिएन ?’

बजिराबादमा एक जना बन्दुकधारीले इमरान खानमाथि गोली प्रहार गरेका थिए । सो घटनामा उनी घाइते भएका थिए । गत वर्ष खान सत्ताच्युत भएपछि खानले समय अगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन् ।

गत नोभेम्बरमा एउटा र्‍यालीका क्रममा इमरान खानमाथि गोली प्रहार भएको थियो, जुन घटनामा उनी बाँच्न सफल भए । पाकिस्तानमा यसै वर्षको अन्त्यतिर आमनिर्वाचन हुने तय भएको छ । सत्ताबाट बाहिरिएयता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन् ।

सोमबार मात्र पाकिस्तानी सेनाले आधारहीन आरोपहरू नलगाउन चेतावनी दिएको थियो । ‘आफ्नो हत्या गर्ने षड्यन्त्र’ भइरहेको भन्दै खानले एक जना वरिष्ठ सैनिक अधिकारीमाथि आधारहीन आरोप लगाएको भन्दै सेनाले खानलाई चेतावनी दिएको थियो ।

मार्चमा पाकिस्तानका एक जना वरिष्ठ अधिकारीले खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको बताएका थिए । लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनको भनाइ थियो । अदालतले खानलाई पक्राउ गर्न आदेश दिएपछि सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको थियो ।

इमरान खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा जंगली राज भएको आरोप लगाउँदै आएका छन् । 

खानले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको उनको दाबी छ । उनले भने, ‘म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्ने छैनन् ।’

मार्चमा पाकिस्तानका एक जना वरिष्ठ अधिकारीले खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको बताएका थिए । लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनको भनाइ थियो । अदालतले खानलाई पक्राउ गर्न आदेश दिएपछि सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको थियो ।

खानका समर्थक र सुरक्षा फौजबीच उनको निवास नजिकै झडपहरू पनि भएका थिए । पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप पनि खानमाथि छ । तर, उनले आफूमाथि लागेका आरोपको खण्डन गर्र्दै राजनीतिक मनशायले यस्तो आरोप लगाएको बताउँदै आएका छन् ।